घरेलु काममा महिलालाई प्रतिबन्ध

|

काठमाडौं : देशभित्र रोजगारीको अवसर नपाएकी सर्लाही घर भएकी शर्मिला विक रोजगारीको खोजीमा थिइन्। स्वदेशमा कामको खोजी गर्दै भौँतारिएको विक रोजीरोटीका लागि विदेश जाने सोच बनाइन्। वैदेशिक रोजगारीमा जानका लागि तयार भएकी विकलाई जीवन विश्वकर्माले कुवेत पुर्‍याए।

सिन्धुली घर भएका जीवन विश्वकर्माले राम्रो कमाइ हुने प्रलोभनमा पारी भरत, दुबईको बाटो हुँदै कुवेत पुर्‍याइएका थिए। घरेलु कामदारको रुपमा काम गर्न विदेशिए की विकले भनेजस्तो काम पाउन त परको कुरा दुई छाक खान समेत पाएकी छैनन्।

कुवेतमा बन्धक जीवन बिताइरहेकी विकले नेपाल फर्कन खोज्दा साहुले किनेर ल्याएको बताउँदै आएका छन्।

कुवेतमा बन्धक बनाइएपछि आमा मच्छेन्द्र विक यतिवेला काठमाडौंमा भौँतारिएकी छिन्। आफूलाई खान बस्नै समस्या भएको र बन्धक बनाएको उनको भनाइ छ। उनी नेपाल फर्कन चाहन्छिन्।

त्यस्तैगरी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ६ घर भएका सानु कान्छा तामाङ पनि श्रीमतीको उद्धारका लागि काठमाडौंमा भौतारिइरहेका छन्। सोही स्थानका राजु तामाङले ओमन लैजाने भन्दै लगेका थिए।

राजुले शुक्रलक्ष्मीलाई त्यहाँको एजेन्सीमा पुर्‍याइदिए। तर, उनको उमेर बढी भएको भन्दै नत ओमन पठायो नत नेपाल नै फर्कायो। उनी दुबईमा रहेकी शुक्रलक्ष्मी तामाङको उद्धार गर्ने उपाय खोजिरहेका छन्। उनले विदेश जानका लागि २ लाख ४५ हजार ऋण लिएकी थिइन्। अहिले एकातिर साहुले पैसा माग्न थालेको छ भने, अर्कातिर श्रीमतीलाई कसरी उद्धार गरी नेपाल फर्काउने भन्ने अन्योलमा उनी छन्।

विक र तामाङ प्रतिनिधि पात्र मात्र हुन्। नेपालबाट एजेन्ट मार्फत  विदेश जाने नेपाली महिला कामदारको अवस्था उस्तै छ। सरकारले महिला कामदारलाई प्रतिबन्ध लगाएसँगै लुकिछिपी विदेश जाँदा बेचिने, बन्धक बन्ने, अलपत्र पर्ने लगायतका समस्या व्याप्त देखिएको छ।

तस्करीमा परेका नेपाली पुरुष र महिलाहरूलाई केन्या, साइप्रस, लेबनान, लिबिया, सिरिया, साउदी अरब, कुवेत, इराक, यूएई र अफ्रिका लगायत देशका डान्सबारमा नाच तथा देहव्यापारका लागि पुर्‍याउने गरिएको भारतस्थित नेपाली दूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अध्ययनले देखाएको छ।​

तस्करको फन्दामा महिला कामदार

घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएकाले सरकारले ०७३ सालमा प्रतिबन्ध लगाएको थियो। संसदको अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयमा खाडी तथा मलेसिया जान रोक लगाएको थियो।

वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले सरकारले रोक लगाएको थियो। प्रतिबन्ध लगाए पनि भारतको बाटो हुँदै विदेशिने नेपाली महिलाको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ।

सरकारले रोक लगाएसँगै असुरक्षित तवरबाट वैदेशिक रोजगारीमा जाँदा अझ धेरै समस्यामा पर्ने गरेको वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। सरकारी तथ्यांक अनुसार दैनिक २ जनाभन्दा बढी नेपाली महिलाहरूलाई भारत र बंगलादेश हुँदै तस्करी गरी तेस्रो तेस्रा मुलुक पुर्‍याउने गरेको उनको भनाइ छ।

वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि विभिन्न देशका नियोग मार्फत सूचना दिने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताउँछन्।​

प्रतिबन्ध नै तस्करीको मुख्य कारण

चैत ०७३ मा संसदको अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका देश र मलेसियामा कार्यरत घरेलु महिला कामदार चरम आर्थिक, मानसिक र शारीरिक शोषण भएको भन्दै ती देशमा महिला कामदारलाई जान रोक लगाएको थियो।

यसरी प्रतिबन्ध लगाएसँगै भारतको बाटो हुँदै वार्षिक १ हजारभन्दा बढी महिला खाडी तथा मलेसिया पुग्ने गरेको गैरसरकारी संघ संस्थाले जनाएका छन्। प्रतिबन्ध लगाएसँगै दलालमार्फत महिला कामदार मलेसिया, खाडी गइरहेको श्रम मन्त्रालयको अध्ययन प्रतिवेदनले देखाएको छ।

सरकारले प्रतिबन्ध लगाउँदा बेचबिखनमा पर्ने समस्या देखिएको वैदेशिक रोजगार विज्ञले बताउँदै आएका छन्। श्रम सम्झौतामा घरेलु महिला कामदारको विषय उल्लेख नगरी सरकारले महिलामाथि विभेद गरेको सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले  जनाएको छ।​

श्रम सम्झौतामा समेटिँदैनन् महिला कामदार

सरकारले विगत ३ दशकमा मलेसिया, ओमान, कतार, जोर्डन, इजरायल, युएई, बहराइन, जापान, साइप्रस, दक्षिण कोरियासँग सरकारी स्तरमा श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। तर,जोर्डन, साइप्रस बाहेक अन्य देशमा महिला कामदारको विषय समेटिएको छैन। 

घरेलु महिला कामदार वैदेशिक रोजगारीमा पठाउँदा उनीहरूको सुरक्षा तथा समस्या भएकाले रोजगारीसँगै अन्य सुरक्षाको ग्यारेन्टी भएमात्र सरकारले घरेलु कामदार पठाउन सहज हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। महिला कामदार वैदेशिक रोजगारीमा पठाउने विषय संवेदनशील भएकोले अन्तरराष्ट्रिय मापदण्ड अनुसार सम्झौता हुनुपर्ने उनको भनाइ छ।​

मानव तस्करी रोक्ने नीति ल्याउनु पर्छ  : विज्ञ 

महिलालाई घरेलु कामदारका रुपमा विदेश जान रोक लगाएपछि मानव तस्करी बढेको वैदेशिक रोजगार विज्ञ सोम लुईँटेल बताउँछन्। यतिबेला वैदेशिक रोजगारीमा नीतिगत विभेद देखिएको छ, जसलाई रोक्न नीति परिमार्जन गर्नुपर्ने हुन्छ।

हालसम्म वैदेशिक रोजगारीसम्बन्धी कानुन बेचबिखनको कानुन छ तर मानव तस्करी नियन्त्रण गर्ने कानुन हालसम्म छैन। यसैले पनि तस्करी बढेको विज्ञ लुईँटेल बताउँछन्। सरकारले प्रतिबन्ध नभएर प्रभावकारी अनुगमन गरी रोजगारीको बाटो खोल्नुपर्ने उनको भनाइ छ। हाल विभिन्न देशमा करिब ११ लाख महिला कामदार रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ। जसमा ४–५ लाख महिला घरेलु कामदार छन्। 

 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.