|

काठमाडौं : क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ। 

गएराति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको हो। क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो।

नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे। विनोद भण्डारी, बसिर अहमद र आदिल आलम समान १३ रनमा आउट भए।कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे।

क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो। क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय इनिङ खेले। नेपालका कप्तान सन्दीपले ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए।

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो। तर, पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो। यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेल नेपालले जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.