|

काठमाडौँ : न्यायपरिषद्ले न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत साहलाई न्यायपरिषद्को शुक्रबारको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो। योग्यता नै नपुगेकी साह शक्तिको आडमा न्यायाधीश नियुक्त भएको भन्दै छानबिनको माग भएपछि उनी बर्खास्तीमा परेकी हुन्।

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी रेणुकाले नियुक्ति लिने समयमा आवश्यक न्यूनतम योग्यता ढाँटी नियुक्ति लिएको छानबिनबाट पुष्टि भएको न्यायपरिषद्ले जनाएको छ।

न्याय परिषद्को शुक्रबारको बैठकले २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन्। उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो। साहले कानुनमा स्नातक गरी वकिलको प्रमाणपत्र लिएको बाहेक अन्य कुनै पनि योग्यता पुष्टि गर्न नसकेपछि उनलाई बर्खास्त गरिएको थियो। 

योग्यतामाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर उनलाई अयोग्य ठहर गरेको हो।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको न्यायपरिषद्‌को बैठकले साहलाई न्यायाधीश नियुक्त गरेको थियो। उक्त निर्णय कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उल्ट्याएका हुन्। 

उच्च अदालतको न्यायाधीश हुन आवश्यक योग्यता
व्यवस्थामा कानुनमा स्नातक उपाधि प्राप्त गरी जिल्ला न्यायाधीशका रूपमा कम्तीमा ५ वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको रूपमा कम्तीमा दश वर्ष निरन्तर वकालत गरेको हुनुपर्छ। वा, कम्तीमा दश वर्ष कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर काम गरेको नेपाली नागरिक उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ भन्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.