|

बैतडी : पाटन नयाँ शहरअन्तर्गत बैतडीको पाटनमा  बसपार्क निर्माणको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७१-७२ मा निर्माण शुरु गरिएको बसपार्क अहिलेसम्म पूरा हुन नसकेको हो।

पाटनमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाएको भए पनि समयमै बसपार्क निर्माणको काम सम्पन्न नहुँदा स्थानीयवासीसमेत निराश बनेका छन्।

८ ओटा बस र ४ ओटा जिप एकैपटक पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। 

बसपार्क निर्माणको कामा ढिलाइ हुँदा सवारी साधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दीनेश विष्टले जानकारी दिए।

उनले भने, ‘बसपार्क निर्माण सम्पन्न गर्न ढिलाई भएको छ, अव्यवस्थित रुपमा बजारमै पार्किङ गरिँदा  दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ।‘

बसपार्क निर्माण कार्यअन्तर्गत अपांगमैत्री शौचालय, बस र जिपका लागि छुट्टाछुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख छ। तर अहिले सम्म काउन्टर भवन बन्न सकेको छैन्।

शुरुमा बजेटेको अभाव, संघीयतापछि कार्यालय केही समय संघ र केही समय प्रदेश मातहत रहँदाको अन्योल, कोभिड लगायतका कारणले बसपार्क निर्माणमा ढिलाइ भएको दाबी गरिएको छ। तर, एउटै बसपार्क ८ वर्षदेखि निर्माण कार्य पूरा नहुँदा स्थानीयवासी भने निराश भएका छन्। 

पाटन नयाँ शहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण शुरु भएको ८ वर्ष बितिसक्दासमेत बसपार्क निर्माणको काम सम्पन्न हुन सकेको छैन।

पाटन नयाँ शहरमा व्यवस्थित बसपार्कको अवधारणाअन्तर्गत बसपार्क निर्माणको काम शुरु भए पनि विभिन्न कारणले अझै पनि बसपार्क निर्माण कार्य सम्पन्न हुन नसकेको पाटन नयाँ शहर आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीले बताए।

१३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्कअन्तर्गत ९० प्रतिशत काम पूरा भइसकेको भए पनि केही काम बाँकी रहेको छ। उनले भने, ’बसपार्क अन्तर्गत काउन्टर भवन र आरसीसी बाटो निर्माण कार्य बाँकी रहेको छ। त्यसका लागि ठेक्का जिम्मा पाएको प्रमोद कन्सट्रक्सनले यो वर्ष काम अघि बढाउन सकेको छैन।‘

समयमै बसपार्क निर्माण कार्य सम्पन्न नहुँदा बनेका संरचनासमेत जीर्ण हुन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.