|

दाङ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले जनताले आधारभूत स्वास्थ्य सेवा अहिलेसम्म पाउन नसकेको स्वीकार गरेका छन्। आइतबार रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले  जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवा ३ वटै सरकारले दिन नसकेको बताएका हुन्। 

नेपालको संविधानमा जनताले आधारभूत स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार भएपनि त्यसो नभएको उनी स्वीकार गर्छन्। जनताको नैसर्गिक अधिकार तीनै तहका संघीय, प्रदेश र स्थानीय तह सरकारले पूरा गर्न नसकेको बताए।

उनले भने, ‘स्वास्थ्य राज्य मन्त्री भइसकेपछि पहिलो प्राथमिकता जनतालाई आधारभूत सेवा दिनु रहेको छ। जनताको आधारभूत स्वास्थ्य सेवाका लागि पहल गर्नु मेरो पहिलो दायित्व र कर्तव्य हो।’

त्यस्तै, उनले तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टका लागि २ करोड बजेट विनियोजन गरिएको बताए। उनले एयरपोर्टको धावनमार्ग स्तरवृद्धिका लागि अर्थ मन्त्रालयले २ करोड बजेट विनियोजन गरिसकेको र थप बजेटका लागि पर्यटन मन्त्रालयसँग आफूले पहल गर्ने पनि बताए।

उनले टरिगाउँ एयरपोर्ट जिल्लाको मात्र नभई साविक राप्तीको सरोकारको विषय भएकोले कुनैपनि हालतमा स्तरवृद्धिको कार्यलाई अघि बढाउनुपर्ने बताए। उनले एयरपोर्ट धावनमार्ग  स्तरवृद्धिका लागि छिट्टै नै टेन्डर प्रक्रियाको आह्वान गरी काम अघि बढ्ने तयारीमा रहेको पनि उल्लेख गरे।

जिल्लाकै ढुकढुकीको रुपमा रहेको तुलसीपुरस्थित रहेको राप्ती प्रादेशिक अस्पताललाई ५० बेडबाट १५० देखि २०० बेडसम्म वृद्धि गरिने पनि विश्वास दिलाए । उनले अस्पतालमा जनशक्ति अभाव र साधन स्रोतका लागि पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

पश्चिम दाङमा रहेका १५  बेडका अस्पताललाई सञ्चालनमा ल्याउनुका साथै सामान्य सेवा मात्रै प्रदान गर्दै आएका अस्पतालका लागि साधन स्रोतका लागि पहल गर्ने बताए। उनले ती अस्पतालमा जनताले सामान्य सेवा मात्र नभई गुणस्तरीय सेवा लिन सक्ने खालको अस्पताल बनाउनका लागि आफूले ध्यान दिने बताए।

जिल्लामा सडक पूर्वाधारले वर्षौंदेखि सास्ती भोग्दै आएकाले त्यसको समाधानका लागि आफ्नो यो समय छोटो भएता पनि त्यसको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

तुलसीपुर–घोराही चारलेन सडकलाई तत्काल निर्माण गर्नका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने बताए। यस्तै उनले आगामी निर्वाचनमा पनि गठबन्धनसँगै मिलेर अघि बढ्ने उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.