|

हेटौँडा : हेटौँडाको राप्ती खोला तर्ने २ सय १५ मिटरको पुल निर्धारित समय अगाडि नै निर्माण सम्पन्न भएको छ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले ठेक्का दिएको निर्माण कम्पनीले निर्धारित समयभन्दा तीन महिना अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरेको हो।

हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ११ र १२ लाई जोड्ने उक्त पुल प्रदेश सरकारले हालसम्म निर्माण गरेका ७० वटा पुलमध्ये सबैभन्दा ठूलो पुल रहेको  निर्देशनालयका निर्देशक सहदेव भण्डारीले बताए।

उनका अनुसार निर्देशनालयले एलिट कन्सट्रक्सन कम्पनी प्रालिसँग २०७६ असोज २७ मा निर्माण सम्झौता गरेको थियो। पुल निर्माणका लागि २०७९ असोज २६ सम्मको समयावधि रहेकोमा कम्पनीले असारमै काम सम्पन्न गरेको उनको भनाई छ।

२ सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण भएको उक्त नवलपुर र आल्दामार जोड्ने पुलले दुई वडाका स्थानीयको अवागमनलाई सहज बनाएको छ।

यी दुई वडा जोड्ने यो पहिलो मोटरेबल पुल हो। निर्देशक भण्डारीले पुल निर्माणको लागि ३२ करोड ८८ लाख २९ हजार पाँचसय १३ रुपैयाँ खर्च अनुमान गरिएकोमा २७ कराेड ४६ लाख २० हजार दुईसय ३३ रुपैयाँमा निर्माण सम्पन्न भएको जानकारी दिए।

उनका अनुसार यसअघि प्रदेशले निर्माण गरेको नुवाकोटको तादी खोलाको ६५ मिटरको पक्की पुल तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको थियो। प्रदेशले ठेक्का आह्वान गरेकामध्ये हाल ३० वटा पुल निर्माणाधीन अवस्थामा रहेको भण्डारीले जानकारी दिए।

पुल निर्माण भएसँगै अल्दामार र नवलपुरको ४० मिनेटको बाटो ५ मिनेटमा छोट्टिएको छ। पुल नभएर खोलाबाट दैनिक यात्रा गर्ने स्थानीयहरु निर्धारित समयभन्दा अगाडि नै पुल बनेको देख्दा हर्षित बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.