|
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी गरेका छन्। 

बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत गराएका हुन्। 

मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उल्लंघनकर्ता ठान्ने भूल नगर्न पनि चुनौती दिए। 

‘मैले गृहमन्त्रीको हैसियतमा गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय पनि सम्हालेको छु। र, मैले परराष्ट्र त आफ्नो ठाउँमा छ। प्रधानमन्त्रीको हिसावले पनि सम्हालेको छु। जसभित्र अरू मन्त्रालयहरू रक्षादेखि लिएर सबै मन्त्रालय पनि पर्छन्, गृह पनि पर्छ। म दाबी साथ के भन्न सक्छु भने-यी ५७ वर्षदेखिको मेरो लडाइँ मूलतः मानव अधिकारका लागि हो’ उनले भने, ‘मेरो लडाई भनेको मानव अधिकारका लागि। र, म अर्को के भन्छु भने–मैले गृहमन्त्रीसमेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उलंघन गरेको छैन।’ 

गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हाल्दा समेत  आफ्नो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उलंघन नगरेको ओलीको दाबी थियो। उनले आफूले मानव अधिकारको उलंघन अहिलेसम्म नगरेको र अव पनि नगर्ने प्रतिवद्धता व्यक्त गरे। 

मानव अधिकारलाई राजनीतिक नियुक्तीको कार्यकाल, जागिरको रुपमा नलिई आदर्श, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पारे। 

‘मैले मानव अधिकारको उलंघन गरेको छैन। र, मानव अधिकारको उलंघन गर्दिन। त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाँही मानव अधिकारको उलंघनकर्ता ठान्ने भूल गर्छ भने त्यो भूल हो। हामी मानव अधिकारका लागि मैले मानव अधिकार दिवसको अवसरमा पनि बोल्दा भनेको थिँए-मानव अधिकार मेरो जागिर होइन’ उनले भने, ‘मानव अधिकार मेरो एक कार्यकालको नियुक्ती होइन। मानव अधिकार मेरो आदर्श हो । मेरो निष्ठा हो। मेरो उद्देश्य हो। मेरो गन्तव्य हो। मेरो यात्रा हो। र, मेरो पुग्ने गन्तव्य हो।’

राजनीति विकृत भए मानव अधिकारको उलंघनको घटना बढेर जाने तथ्य पनि पटकपटक स्मरण गराए। 

ओलीले भने, ‘म एकिन पनि भन्न सक्दिन। यो चाँही मानव अधिकार विशुद्ध मानव अधिकार होइन कि भन्ने ठान्नु भयो कि? विशुद्ध मानव अधिकार भनेको हुँदै हुँदैन। मानव अधिकार भनेको मानव अधिकार हो, त्यो अशुद्ध पनि हुँदै हुँदैन। त्यसकारण मानव अधिकारलाई विशुद्ध र अशुद्ध, आंशिक र पूर्ण ठान्ने धारणा भ्रान्ति हो, त्यो सही धारणा होइन। यदि उहाँहरुले त्यसो ठानेर नआउनू भएको हो भने त्यो नठान्दा हुन्छ भन्ठान्छु मैले।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.