|

काठमाडौं : चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको चिकित्सकको साझा संस्था नेपाल चिकित्सक संघले स्वागत गरेको छ।

संघका अध्यक्ष डा. लोचन कार्कीले निरन्तरको प्रयास र दबाबमूलक गतिविधिका कारण चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका लागि यो विधेयक पास हुनु स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धि भएको बताए। ‘पछिल्लो समय विभिन्न बहानामा चिकित्सक तथा स्वास्थ्य संस्थाहरूमा भौतिक आक्रमणको घटना बढ्दै गएको छ। यस्तो अवस्थामा चिकित्सक स्वयंमले असुरक्षाको अनुभूति गरिरहेका वेला यो ऐन आउनु भनेको ठूला उपलब्धि हो’‚ उनले भने।

यस्तै संघका महासचिव डा. बद्री रिजालले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कडा कानुनी व्यवस्थाको माग हुनुपर्ने भन्दै पटक-पटक आवाज उठाउँदै आएका सबैमा धन्यवाद व्यक्त गरेका छन्।

यस्तै संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीले स्वास्थ्यकर्मीहरू र स्वास्थ्य संस्थाको सुरक्षाका लागि ल्याइएको यो विधेयक धेरै राम्रो भए पनि कार्यान्वयनमा जोड दिनुपर्ने बताए। 'यो विधेयक पास हुनु हामी स्वास्थ्यकर्मीका लागि एकदमै खुसीको कुरा हो तर हाम्रोमा धेरै कानुन कार्यान्वयनमा नभएको पाइन्छ। त्यसैले यसको कार्यान्वयनमा पनि उत्तिकै जोड दिनुपर्छ'‚ डा केसीले भने।

चिकित्सकहरूको लामो समयको प्रतीक्षा र दबाबपछि सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन (पहिलो) संशोधन ऐन २०७९’ प्रतिनिधिसभाबाट बुधबार पारित भएको थियो।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले प्रतिनिधिसभामा प्रस्तुत गरेको उक्त विधेयक पारित भएसँगै ऐनको रूपमा आउने भएको हो।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन (पहिलो) संशोधन ऐन २०७९’ विगतको विधेयकमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई मात्र पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थियो तर अहिले जारी विधेयकमा उक्त कसुरसहित थप दुईवटा कसुर गर्नेलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थप भएको छ।

अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरे तीन वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। स्वास्थ्य संस्थामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ।

त्यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरे, विरामीको उपचारमा बाधा पुर्‍याए वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, धम्की, गालीगलौज/अपमानजनक व्यवहार गरे एक वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.