|

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल विजयी भएकी छन्। उपसभामुख चयनका लागि संसद्‌मा शुक्रबार भएको मतदानमा  नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन्।

उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए।

भुसालले १४८ मत पाउँदा विपक्षी उम्मेदवार भट्टराईले ९३ मत पाएको तथा मत दिन्नँ अर्थात् तटस्थमा १ मत परेको सभामुख  सापकोटाले जानकारी दिए।

त्यस्तै, कुल मतदानमा उपस्थित सदस्य संख्या २४२  रहेको पनि सभामुख सापकोटाले बताए।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी,  यस्तै, भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल थिए। 

भुसाल यसअघि उपसभामुखमा नेकपा एमालेकै उम्मेदवारसँग पराजित भएकी थिइन्। तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी डा.शिवमाया तुम्बाहाङ्फे निर्वाचित भएकी थिइन्। अहिले भने नेतृ भुसालले एमालेकै उम्मेदवार भट्टराईलाई पराजित गरेर आफू विजयी बनेकी हुन्।

उपसभामुख पद रिक्त भएको २९ महिनापछि पदपूर्ति भएको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.