काठमाडौं : साउने संक्रान्ति लागेसँग हरियो चुरापोते, कपडा र मेहेन्दीको सिजन सुरु भएको छ। अहिले विभिन्न चोक तथा गल्लीमा हातमा मेहेन्दी लगाउनेको भीड लागेको छ ।
मेहेन्दी लगाइदिनेको व्यापार पनि उस्तै व्यापक हुन थालेको छ। उपत्यकाको विभिन्न चोकमा मेहेन्दी लगाउने हरियो चसरा पोते किन्नेको भीड लागेको छ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।
लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई हिन्दु धर्मावलम्बीले विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ।
महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।