|

रौतहट : दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण रौतहटसहित तराईकाे जनजीवन कष्टकर बन्दै गएको छ।

पानी नपरेको र दिन प्रतिदिन बढ्दै गएको गर्मीमा टन्टलापुर घामका कारण रौतहटसहित मधेश प्रदेशको जनजीवन नराम्रोसँग प्रभावित भएको हो।

चर्काे घामका कारण दैनिक क्रियाकलाप गर्न समस्या भएको छ। हावा नचल्ने, चर्काे घाम र अत्यधिक गर्मीका कारण स्थानीयहरू घरभित्रै उकुसमुकुस हुने र घरबाहिर निस्किएपछि पसिनाले निथ्रुक्क भिज्ने गरेका छन्। गर्मीका कारण ग्रामीण सडकका सवारीसाधनमा यात्रुकाे चाप निकै घटेको छ।

स्वास्थ्य समस्या बढ्यो

तराईमा अत्यधिक गर्मीका कारण ग्रामीण बासिन्दाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन थालेका छन्। विशेषगरी ज्वरो, रुघाखोकी तथा चर्मरोगको प्रकोप बढेको छ।

वृन्दावन स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्रप्रसाद यादवले अहिले ज्वरो, रुघाखोकी र चर्मरोगका बिरामी बढी आउने गरेको बताए। उनले रोगीहरूमा टाउको, हातखुट्टा र जीउ दुख्ने समस्या भएको बताए।

पानी नपर्दा किसान चिन्तित

धान रोपाइँको मध्य समयमा खडेरी परेपछि तराईका किसान निराश छन्। यस क्षेत्रमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन्, रोपेको धान बाली पनि सुक्न थालेको छ।

वर्षा हुने आशमा किसान रातदिन आकाशतिर हेरेर बस्न बाध्य छन्। तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन्। असार दोस्रो साता दुई दिन सामान्य झरी परे पनि त्यसपछि पानी पर्न सकेको छैन।

मध्य असारमा सामान्य झरी पर्दा हतार हतारमा रोपाइँ गरेका किसान फेरि पानी नपरेपछि खेतमा धाँजा फाटेर भर्खरै रोपेको धानबाली सुक्न थालेकाे बताउँछन्।

रोपाइँ गर्न दमकलबाट सिँचाइ गर्नुपर्दा किसानहरूलाई थप आर्थिक भार परेको छ। डिजलको मूल्यवृद्धिले दमकलबाट सिँचाइ गर्दा निकै खर्चिलो भएको किसानहरूको भनाइ छ।

पठनपाठन प्रभावित

गर्मीका कारण जिल्लाका केही पालिकाहरूले विद्यालयमा बिदा दिए पनि अधिकांश पालिकाका विद्यालय सञ्चालनमा छन्। सञ्चालनमा रहेका विद्यालयमा विद्यार्थी तथा शिक्षकहरू गर्मीले सार्है थकित हुने गरेका र टिफिन समयमै घर फर्किने गरेका छन्।

रौतहटको चन्द्रपुर, बृन्दाबन, गुजरा, गौरलगायत पालिकाका सामुदायिक तथा निजी विद्यालयहरू पनि सञ्चालनमा छन्।

बजारमा चहल पहल घट्दै

दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण रौतहट जिल्लाका व्यापारिक बजारमा चहल पहलसमेत घट्दै जान थालेको चन्द्रनिगाहपुरका व्यापारी राजेन्द्र तिवारीको भनाइ रहेको छ।

जिल्लाका प्रमुख व्यापारिक बजार चन्द्रपुर, गौर, गरुडा, समनपुर कटहरियालगायतका बजारमा सर्वसाधारणको चहल पहल बढ्दै जान थालेको स्थानीय व्यापारीहरूको भनाइ रहेको छ।

जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमासमेत सर्वसाधारणको चहल पहल कम हुँदै जान थालेको हो।

वर्षा नभएका कारण सर्वसाधारणले विभिन्न खालका सास्ती खेप्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.