|
फाइल तस्बिर

काठमाडौं : विभिन्न पार्टी निकट विद्यार्थी संगठनहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।

‘हालै मात्र मुलुकको मौद्रिक नीति निर्माण र वित्तीय संस्थाहरुको नेतृत्वदायी संस्था नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रमुख प्रतिपक्षी दलको अर्थ तथा योजना विभागको सदस्यको जिम्मेवारीमा रहेको कुराले आम नेपाली जनताको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

अधिकारीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानूनी राज्यको धज्जी उडाएको उनीहरुको आरोप छ।

तत्काल अधिकारीले राजीनामा नदिए उनकाे बर्खास्तीकाे माग गर्दै प्रधानमन्त्री र प्रतिनिधि सभाका सभामुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, यही साउन ४ गते नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशभरीका शाखा कार्यालयहरूमा कालो ब्यानर राख्ने, ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन गर्ने तथा अन्तक्रिया कार्यक्रम गर्ने, ६ गते देशैभरी क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने विज्ञप्तिमार्फत जनाइएको छ।

साउन ७ गते संघीय संसद सदस्यहरुलाई गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम रहेको पनि विज्ञप्तिमार्फत जानकारी दिइएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.