|

बैतडी : जिल्ला अस्पताल बैतडीमा पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।

एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका १० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो।

अस्पतालले पहिलोपटक एपेन्डिसाइटिसको सफलतापूर्वक इमर्जेन्सी अपरेसन गरी सफल उपचार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए।

डा. धीरज जयसवाल, डा. दिपेश श्रेष्ठ, डा. रोशन चौधरी, डा. हिरा जोशी, डा. चैतन्य जोशी, डा. थानेश्वर न्यौपानेलगायतको टोलीले सफल शल्यक्रिया गरेको हो। गत हप्ता भर्ना भएकी ती महिलाको शल्यक्रियापछि  डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ।

एपेन्डिसाइटिस एक गम्भीर रोग भएकोले समयमै उपचार नपाए एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिन सक्छ। विशेषज्ञका अनुसार यो रोगको लक्षण देखिनेवित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ।

एपेन्डिक्समा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ। एपेन्डिसाइटिस हुँदा व्यक्तिको पेट पटक–पटक दुखिरहन्छ। एपेन्डिसाइटिस हुने व्यक्तिमा भोक कम लाग्ने, वाक वाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आउँछ।

एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ। पेटको दुखाइ सही नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने संभावना हुने भएकोले  छिट्टै शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्।

जिल्ला अस्पताल बैतडीमा पहिलोपटक नौ जना डाक्टर उपलब्ध भएपछि सेवाप्रवाह पनि प्रभावकारी हुँदै गएको छ। दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुईजना विशेषज्ञसहित ९ जना डाक्टरले सेवा दिन थालेका हुन्।

अस्पताल स्थापना भएको २०३३ साल यता पहिलो पटक २ जना विशेषज्ञसहित ९ जना चिकित्सकले जिल्ला अस्पतालमा सेवा दिन थालेका अस्पतालले जनाएको छ।

जिल्ला अस्पताल बैतडीमा गर्भवती महिलाहरुको शल्यक्रिया गरेर प्रसूती गराउने व्यवस्था रही आएको छ भने अन्य शल्यक्रिया सेवाहरु पनि थप गरिने अस्पताल प्रमुख डा. श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.