‘बेरुजु नियन्त्रणमा सरकार असफल भयाे’

|
फाइल फोटो

काठमाडाैं : राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोलियम पदार्थ उत्खनन गर्ने कामको जानकारी संसद्‌लाई जानकारी गराउन माग गरेका छन्। 

राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। 

उनले भने, ‘कर्णाली प्रदेशको पेट्रोल उत्खननको काम कति भएको छ। सम्बन्धित मन्त्रालयले त्यसको जानकारी दिन आग्रह गर्छु र उक्त काम सरकारले प्राथमिकतामा राख्न आग्रह गर्छु।’

सांसद नरबहादुर विष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई लखेट्ने काम गरेको भन्दै विरोध गरे। उनले व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरूलाई करको दायरामा ल्याएर रोजीरोटीको सरकारले नै सुनिश्चिता गर्नुपर्ने बताए। 

‘काठमाडौं महानगरपालिकाको फुटपाथमा रहेका व्यापारीलाई लखेट्ने काम भइरहेको छ। त्यसलाई व्यवस्थित तरिकाले करको दायरामा ल्याएर व्यापार गर्न दिन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। सडकपेटीमा व्यापार गर्ने व्यापारीहरूलाई पनि करको दायरामा ल्याएर उनीहरूलाई रोजीरोटीको सुनिश्चितता गर्न आग्रह गर्छु’‚ उनले भने। 

सांसद भुवनबहादुर सुनारले देशलाई बेरुजुले आक्रान्त बनाएको बताए। उनले स्थानीय, प्रदेश र संघीय तीनवटै तहमा बेरुजु बढ्दै गए पनि सरकारले बेरुजुलाई व्यवस्थित गर्न सरकार पछाडि परेको बताए। 

‘अहिले देशमा रुजु र बेरुजुको कुरा चलिरहेको छ। बेरुजुले सबैतिर अहिले आक्रान्त बनाएको छ। हिसाब गर्नेहरूले कस्तो किसिमको लेखा प्रणाली अगाडि बढ्यो र बेरुजु बढ्यो भन्ने चर्चा बढ्न थालेको छ’‚ उनले भने, ‘बेरुजु स्थानीय, प्रदेश र संघीय सबै सरकारको उस्तै छ। बढ्दै गएको बेरुजुलाई व्यवस्थित गर्न राज्य किन पछाडि परेको छ।’

यस्तै सांसद सुरेशकुमार आले मगरले नेकपा एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्ने बताए। उनले एम अधिकारी र राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय रहस्यमय बन्दै गएको बताए। 

‘एम अधिकारी खोटाङ नाम र ठाउँको चर्चा बढी रहेको छ। मलाई लाग्छ‚ आज घरघरकी कहानी जस्तो भएको छ भने यो रहस्यमय पनि बनेको छ। एमालेमा कुनै मान्छे लाग्न पाउँछ। गभर्नर हुन योग्यता क्षमताका आधारमा पाउँछ तर दुवै व्यक्ति दुईतिर हुन पाउँदैन। यो व्यक्ति को हो हामी जान्न चाहन्छौँ’‚ उनले भने, ‘नेपाली जनता जान्न चाहन्छन्। नेकपा एमालेले जानकारी दिनुपर्छ।’

सांसद आले मगरले नेकपा एमालेको कुनै एउटा विभाग र राष्ट्र बैंकको गभर्नर पदमा बस्न नमिल्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.