|

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउने व्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको दाबी गरेका छन्। 

काठमाडौंमा बुधबार पार्टीको स्कुल विभागले आयोजना गरेकाे स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकताबद्ध गर्न नसकेको आरोपसमेत लगाएका छन्। 

एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको पनि नेपालको भनाइ थियो। ओलीले अहम् देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको उनकाे भनाइ छ। 

‘सर्वोच्चले पहिलाकै अवस्थामा जानु भनेर आदेश आइसकेपछि पार्टी निर्माण गर्न बाध्य भयौँ। ०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो। फेरि २०७५ फागुन २३ गतेको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टिए। यो फुटाउने काममा केपी ओलीजीले भूमिका खेल्नुभयो। त्यसको रहस्य एमालेलाई एकताबद्ध गराउने होला भन्ने आशा गरेका थियौँ‚’ उनले भने, ‘तर फागुन २८ गते एकलौटी बैठक बसेर केपी ओली पक्षका मान्छेको मात्रै उपस्थिति गराएर एकलौटी पार्टीको विधान संशोधन भयो। हामीले नेकपा एमाले कम्युनिष्ट पार्टी नरहेको थाहा पाएपछि हामी बाहिरियौँ। त्यसमा राजा‚ महाराजाका गन्ध आए। त्यसपछि सबै साथीले नयाँ ढंगबाट जानुपर्ने कुरा राखेपछि नै हामी नयाँ पार्टी निर्माण गरेर आएका हौँ।’

उनले आगामी प्रदेश र संघको निर्वाचनमा धेरै सिट ल्याउनका लागि तयारीमा जुट्न आवश्यक रहेको बताए। उनले प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको सिट बढ्ने दाबीसमेत गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.