|

बैतडी : पछिल्लो समय बैतडीमा विद्युत अनियमित हुँदा सेवाग्राही मारमा परेका छन्। विद्युत एकै छिन आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन्। विद्युत अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीहरूले बताएका छन्। गएको एक महिनादेखि विद्युत अनियमित हुँदा हजारौं उपभोक्ता मारमा परेका छन्।

विद्युत नियमित नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका-७ का दिपेन्द्र कार्कीले बताए। ‘बेला बेलामा आउने जाने हुने गरेको छ‚’ उनले भने‚ ‘यसले गर्दा उपकरण बिग्रने गरेका छन्।’

विद्युत अनियमित हुँदा मिल सञ्चालक, कम्प्युटर पसल, इलेक्ट्रोनिक पसल, विद्युतबाट सञ्चालन हुने ग्रिल उद्योग लगायतलाई समस्या भएको छ। साथै विद्यार्थीहरूलाई समेत समस्या भएको छ। विद्युत नियमित नहुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यमलाई समेत समस्या भएको छ।

विद्युत नियमित नहुँदा जिल्ला सञ्चालित रेडियोलाई समेत समस्या हुने गरेको छ। बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकहरूले बेलाबेलामा विद्युत आउने जाने गर्नाले विद्युतबाट चल्ने धेरै सामग्री बिग्रिने गरेको बताएका छन्। बत्ती आउने जाने हुनुका साथै आयो भने पनि कहिले मधुरो आउने गरेकाले थप समस्या हुने गरेको छ।

विद्युत नियमित नहुँदा होटल व्यवसायसमेत प्रभावित बन्दै गएको पाटनका व्यापारी राकेश जोशीले बताए। अनियमित विद्युत कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ। अनियमित विद्युत कटौतीले श्रीकोट स्वास्थ्य चौकीमा खोप सेवा प्रभावित हुने गरेको छ।

श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटका अनुसार भ्याक्सिन २४ सै घण्टा चिसोमा राख्नुपर्ने भए पनि विद्युत कटौतीले गर्दा खोप सेवा प्रभावित हुने गरेको बताए।

यता विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले वर्षा, हावाहुरी र चट्याङका कारण ३३ केभी लाइनमा समस्या आएकाले विद्युत नियमित हुन नसकेको जनाएको छ। पुरानो लाइन भएका कारण बर्षातको समयमा समस्या आइरहेको र विद्युत नियमित गर्ने प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले बताए।

बर्षातका कारण तार चुँडिने, हावाहुरीले पोल ढल्ने लगायतका समस्या आउँदा विद्युत आपूर्ति अनियमित हुने गरेको छ। उनले भने‚ ‘वर्षा र हावाहुरीले विद्युतका संरचनाहरूमा क्षति पुर्‍याइरहेकाले विद्युत अनियमित हुने गरेको छ, सकेसम्म चाँडो आपूर्ति नियमित गर्ने नीतिअनुसार कार्यालयले काम गरिरहेको छ।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.