|

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा वितरण गर्ने पानीको पाइप लाइनमा आएको समस्याका कारण बजारमा पानीको अभाव भएको छ।

कुश्मा बजारमा मोदी गाउँपालिकामा रहेको पातीखोला र कुश्मा नगरपालिकाको क्यादी खोलाबाट पानीको आपूर्ति हुँदै आएको छ। वर्षाका कारण खोलामा आएको बाढी र पहिरोका कारण पाइप लाइनमा भएको क्षतिका कारण पानीको आपूर्ति बन्द भएको छ।

बजारको पानी व्यवस्थापनको काम गर्दै आएको शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार आइतबारदेखि नै ती दुवै ठाउँबाट आउने पानीको आपूर्ति बन्द भएको छ।

‘पाती खोलाबाट आएको पानीको पाइप लाइन भीरै भीर ल्याइएको छ। वर्षा भएको बेलामा भीरमा सामान्य ढुङ्गा खसेर पाइपमा लागो भने फुटिहाल्छ। भीरमा गएर त्यो मर्मत गर्न नै समस्या छ,’ उनले भने, ‘चढ्नै नसकिने भीरमा जेनेरेटर बोकेर गएर शनिवार रातीसम्म बसेर मर्मत गरेको तर पानीको आपूर्ति भएको छैन। फेरि कहाँ के भएको छ हामी जाँदै छौँ।’ पहिरो झरेर पाइपमा क्षति भएको वा खोलामा बाढी आएका कारण मुहानमा समस्या आएर आपूर्ति बन्द भएको हो भन्ने पानीको मुहानमा हेरेपछि थाहा हुनेछ।

कुश्मा नगरपालिकाको खुर्कोट स्थित क्यादी खोलाको मुहानमा आएको बाढीका कारण बजारमा पानीको आपूर्ति बन्द भएको हो। कार्यालय प्रमुख पौडेलले क्यादी खोलामा आएको बाढीका कारण खोला धमिलिएको देखिएको बताउँदै त्यो स्रोतमा आएको समस्याको बारेमा पनि संस्थाले खोजी गरिरहेको छ। सोमबार साँझसम्ममा दुवै मुहानको पानी कुश्मा खसाल्न सकिने सम्भावना रहेको उनले बताए।

कुश्मावासीले हरेक वर्षको हिउँद र बर्खा याम दुवै समयमा पानीको समस्या झेल्दै आएका छन्। हिउँदमा पानीका मुहान सुक्दा पानी नै आउँदैन भने बर्खामा तीनै मुहानमा आउने बाढी र बिछ्याइएको पाइप लाइनमा आउने पहिरो क्षति हुँदा आपूर्ति बन्द हुने गरेको छ।

शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठका अनुसार कुश्मा बजारमा अहिले दैनिक करिब ४० लाख लिटर पानीको माग रहे पनि ३२ लाख लिटर मात्रै आपूर्ति भइरहेको छ। गर्मी याममा आपूर्ति घटेर २५ लाख लिटरसम्म झर्ने गरेको छ। पाती खोला र क्यादी खोला सहित डम्डारे खोलाबाट पनि कुश्मामा पानीको आपूर्ति हुने गरेको छ। तर गत भदौमा भीषण वर्षासँगै आएको पहिरोका कारण डम्डारे खोलाको आपूर्ति अवरुद्ध भएको छ।

त्यहाँबाट प्रतिसेकेन्ड दुई लिटर पानी आउने गरेको थियो। पाती खोलाबाट ल्याइएको पाइपमा हिउँद र बर्खा सबै समयमा प्रतिसेकेन्ड १७ लिटर पानीको आपूर्ति हुँदै आएको छ। पानीको मुख्य स्रोतको रूपमा रहेको खुर्कोटको क्यादी खोलाबाट प्रतिसेकेन्ड २२ लिटरसम्म पानी आउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.