|

काठमाडौं : कोरोनाका कारण लामो समय रोकिएका फिल्म क्रमशः प्रदर्शनमा आउँदैछन्। तिबाहेक नयाँ बनेका फिल्म पनि प्रदर्शनको तयारीमा छन्।

कोरोनाका कारण भएको लकडाउन खुलेपछि पनि नेपाली फिल्मविहीन बनेका हलहरूमा अब भने एकैदिन दुईवटा फिल्म प्रदर्शनमा आउन थालेका छन्। जसमा एउटै निर्देशक तथा कलाकार भएका फिल्म पनि नजिकका मितिमा प्रदर्शन हुने देखिएको छ। 

असार ३१ मा प्रदर्शनमा आएका ‘सिल्ली फो’ र ‘सम्झना बिर्सना’बाट यो क्रम शुरु भइसकेको छ। आगामी शुक्रबार अर्थात साउन १३ गते खगेन्द्र लामिछानेको ‘पानीफोटो’ले एकल प्रदर्शन पाएको छ भने त्यसपछिका शुक्रबार भने लगातार फिल्महरू जुध्ने देखिएको छ। 

‘म’ र ‘आँधी तुफान २’

आगामी साउन २० मा दुईवटा नेपाली फिल्म 'म' र 'आँधी तुफान २' एकसाथ प्रदर्शनमा आउँदैछन्। सस्पेन्स‚ थ्रिलर जनरामा बनेको फिल्म 'म'बाट सञ्जोग रसाइली र पुनम श्रेष्ठले डेब्यु गर्दै छन्। कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको फिल्मलाई प्रकाश पुरीले लेखेका हुन् भने निर्देशन सुवर्ण थापाको हो।

दुई दिनअघि सार्वजनिक फिल्मको ट्रेलरलाई युट्युबमा १ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ। फिल्ममा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापालगायत कलाकारको पनि अभिनय रहेको छ। 

नारीप्रधान सफल एक्सन फिल्म 'आँधी तुफान'को सिक्वेल 'आँधी तुफान २' पनि साउन २० मा प्रदर्शन थाल्ने तयारीमा छ। मदन घिमिरेको निर्देशनमा बनेको फिल्मको लेखक तथा निर्माता मौनता श्रेष्ठ हुन्। एक्सन जनरामा बनेको फिल्ममा सोनी बिसी, यन्शु श्रेष्ठ र आरती आचार्य केन्द्रीय पात्रको भूमिकामा देखिँदैछन्। ३ साताअघि सार्वजनिक फिल्मको ट्रेलरलाई ६० हजारभन्दा बढी पटक हेरिएको छ। 

‘माइकल अधिकारी’ र ‘कृष्ण लीला’

भदौ ३ गते सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको 'माइकल अधिकारी' र पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको 'कृष्ण लीला' एकसाथ प्रदर्शनमा आउने भएका छन्। 

गोपिकृष्णको प्रस्तुति सोसल कमेडी ड्रामा 'माइकल अधिकारी'लाई रञ्जित रौनियारले निर्देशन गरेका हुन्। ५ दिनअघि सार्वजनिक फिल्मको ट्रेलरलाई युट्युबमा साढे ३ लाख पटक हेरिएको छ। 

लक्ष्मण सुवेदीको लेखन तथा दीपक ओलीको निर्देशन रहेको फिल्म 'कृष्ण लीला'को चर्चा पनि प्रदर्शनअघि ‘माइकल अधिकारी’को जस्तै नै छ। प्रेम कथामा आधारित फिल्मको ट्रेलरलाई ११ दिनमा झण्डै ४ लाख पटक हेरिएको छ। 

‘राधा’ र ‘प्रकाश’

भदौ १० गते प्रदिप खड्का अभिनित 'प्रकाश' र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको 'राधा' एकसाथ प्रदर्शनमा आउँदैछन्। नारीप्रधान सामाजिक कथा रहेको ‘राधा’को लेखन तथा निर्देशन सुवर्ण थापाले गरेका हुन्। सौगात मल्ल, देविका बिष्ट, विक्रम दास जोशीको संयुक्त निर्माण रहेको फिल्ममा सृष्टिबाहेक खगेन्द्र लामिछाने, दिव्य देव, सौगात मल्ल, दयाहाङ राईलगायत कलाकारको अभिनय रहेको छ। 

दिनेश राउतको निर्देशन, विकास सुवेदीको लेखन तथा महेन्द्र अधिकारीको निर्माण रहेको 'प्रकाश'मा सरकारी शिक्षक बन्न संघर्षरत एक युवाको कथा रहेको छ। फिल्मको ट्रेलरलाई एक हप्तामै २० लाखभन्दा बढी पटक हेरिएको छ। फिल्ममा प्रदिपबाहेक दिया मास्के र रेनुनाथ योगीको मुख्य भूमिका रहेको छ। 

‘सम्हालिन्छ कहिले मन’ र ‘झिंगे दाउ’

भदौ १७ गते दुई नेपाली फिल्म 'सम्हालिन्छ कहिले मन' र 'झिंगे दाउ' एकसाथ प्रदर्शनमा आउँदैछन्। दुवै फिल्मको ट्रेलर सार्वजनिक हुन बाँकी छ भने सार्वजनिक दुवै फिल्मका गीतले उत्तिकै लोकप्रियता पाएका छन्। 

सुदर्शन थापाको निर्देशन, महेश दवाडीको लेखन तथा अमित बस्नेत, अजिककुमार थापा र परी रानाको निर्माणमा बनेको 'सम्हालिन्छ कहिले मन' प्रेम कथामा आधारित रहेको छ। पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको फिल्मको ‘एउटा जरुरी कुरा छ’ बोलको गीत सार्वजनिक भएको छ। 

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको 'झिंगेदाउ'को ‘आगोबिना बिँडी जल्दैन’ बोलको गीत यतिवेला चर्चित छ। सुलभ प्रतीक देउजा र समीक्षा देउजाको निर्माणमा बनेको फिल्म प्रदिप भारद्वाजले लेखेका हुन्। फिल्ममा मुकुन भुषाल, केकी अधिकारी, कुशल विष्ट र आँचल शर्माको मुख्य भूमिका रहेको छ। 

यीबाहेक दशैँ र तिहारमा ठूला ब्यानरमा बनेका फिल्महरूको प्रदर्शन मिति जुध्ने देखिएको छ। सोमबार मात्रै छायांकन शुरु गरेको 'छक्का पञ्जा ४', 'महापुरुष', 'छड्के २' आदि फिल्म यसअघि नै दशैँ तिहारकै छेको पारेर रिलिज गर्ने बताउँदै आइएको थियो।

'दुई नम्बरी' र 'प्रसाद २' को प्रदर्शन मिति कात्तिक ४ तोकिएको छ। तर निर्माण टोलीभित्रकै विवादका कारण 'प्रसाद २' निर्माणको काम अघि बढ्न सकिरहेको छैन। 

प्रदर्शन हुन बाँकी फिल्म धेरै भएपछि दुईवटा फिल्मको मिति जुध्नु सामान्य मानिन्छ। अब सबै फिल्म तोकिएकै मितिमा प्रदर्शनमा आउँछन् आउँदैनन्, व्यावसायिक रुपमा एउटा फिल्मले अर्को फिल्मलाई कस्तो असर गर्छ भने हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.