|

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा प्रत्येक महिना १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण हुने भएको छ।

स्थानीय तहको निर्वाचनको क्रममा गठबन्धनबाट मेयर र उपमेयरले गरेको संयुक्त घोषणापत्रमा उपमहानगरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने बताएका थिए। घोषणापत्रअनुसार उपमहानगरले मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको हो।

उपमहानगरमा बिहीबार मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ। बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको उपमहानगरका प्रवक्त सविन न्यौपानेले जानकारी दिए।

उक्त निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धाराहरूमा मात्र लागू हुनेछ। निर्णयअनुसार २३ हजार ५ सय धाराको हकमा लागू हुने जनाइएको छ। उक्त सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दाबी गरिएको छ।

निःशुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रूपैयाँ उपलब्ध गराउने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.