|

बैतडी : बैतडीको मेलौली नगरपालिकाका गाउँटाेलमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।

नगरपालिकाले हाल अभियानकै रुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको हो।

भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीम बहादुर चन्द 'भूकम्प' गाउँटोलमा खटिएका छन्।

नगरका ज्येष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको गाउँ टोलमा पुगेको नगर प्रमुख चन्दले बताए।

वृद्धवृद्धा तथा अपांगता भएका नागरिकहरुको सहजताका लागि बैंकसँग सहकार्य गरेर गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ। उनले भने, 'ज्येष्ठ तथा असक्त नागरिकको समस्या बुझ्नकै लागि गाउँगाउँ पुगेका हौँ, उनीहरुको समस्या पहिचान गरेर नगरपालिकाले थप सहयोगका कार्यक्रम गर्नेछ।'

नगरपालिकाले अहिले गत आर्थिक वर्षको तेस्रो र चौथाे त्रैमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि गाउँटोल पुगेर भत्ता वितरण गरिरहेको हो।

नगरपालिका र मेलौलीमा रहेको एनसीसी बैंकको शाखाले गाउँटोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो। वर्षातको समयमा स्तरीय बाटो नभएका कारण आवतजावत गर्न पनि समस्या भएका बेला उनीहरुलाई केही राहत पुगोस् भनेर गाउँ जाने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।

वडा नं १ को जर्कु टोलबाट सुरक्षा भत्ता वितरण गर्ने कार्यको शुभारम्भ गरिएको र यो अभियान सबै वडामा लागू हुने नगरपालिकाले जनाएको छ।

सरकारले उक्त भत्ता अनिवार्य बैंकिङ्ग प्रणालीमार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरैजसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिक लामो समयसम्म लाइन बस्नुपर्ने हुँदा निकै कष्ट व्यहोर्नुपरेको थियो।

नगरपालिकाले गाउँ गाउँमा गएर भत्ता दिन थालेपछि नागरिकहरु पनि खुसी भएका छन्। नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ४ हजार ६०३ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.