|

पोखरा : पोखरामा आजदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ। सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ।

पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौं, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ।

सम्मेलनमा सहभागी हुन आएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले आज पोखरामा स्वागत गरेको छ। सहभागीलाई पोखरेली ढाका टोपी, सल र खादा मालाबाट स्वागत गरिएको थियो। पोखराका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्षले पाहुनालाई स्वागत गरेका थिए।

महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने पोखरा महानगर प्रमुख आचार्यले बताए।

महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको उनले बताए। उनले भने, 'गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौति र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ। सम्मेलनले पोखरा घोषणा जारी गर्नेछ र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ।'

सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा प्रस्तुति राखेका थिए। यसैगरी  महानगरपालिकाका प्रमुखद्वारा महानगरपालिकाका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीहरूबारे अनुभव आदानप्रदान गरिएकाे थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.