|

काठमाडौं : अख्तियारको स्टिङ अप्रेसनमा सरकारी कर्मचारी पर्न थालेका छन्। घुसको रकमसहित सरकारी कर्मचारी दिनहुँ अख्तियारको फन्दामा पर्न थालेका हुन्।

साढे २२ लाख घुस रकमसहित संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव पक्राउ परेकै भोलिपल्ट आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधान पक्राउ परेकी छन्।

कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा प्रधान पक्राउ परेकी हुन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यसअघि हिजो मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात समातिएका थिए।

व्यापारीसँग प्याराग्लाइडिङ सञ्चालन अनुमतिपत्र मिलाइदिने भन्दै नगद ६ लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा मंगलबार साँझ नक्सालको नागपोखरीस्थित एक होटलको कम्पाउन्डबाट रङ्गेहात समातिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

सरकारी गाडीसहित होटल पुगेका नेपालको गाडीबाट थप १६ लाख ५० हजार रूपैयाँसमेत बरामद भएको भण्डारीले जानकारी दिए। पक्राउ परेका नेपालमाथि थप अनुसन्धान भैरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.