|

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी चुनाव एमाले भर्सेस गठबन्धन हुने बताएका छन्।

आज पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा पौडेलले हालै सम्पन्न स्थानीय चुनाव जस्तै आगामी संघ र प्रदेशको निर्वाचन पनि एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने बताएका हुन्।

उनले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणीसमेत गरेका छन्।

'नेकपा एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्,' उनले भने, 'एमालेविरुद्धमा चुनाव लड्ने दुई खुट्टाले टेकेको पार्टी नेपाल नामको धर्तीमा देखिएन। एमालेका विरुद्धमा चुनाव लड्ने मात्र होइन, नोमिनेशन गर्ने आँट भएको पार्टी पनि नेपालमा छैन। आजको यथार्थ यही हो।’

एमाले नामको पार्टीले नेपालमा अनौठो शक्ति निर्माण गरेको उनको दाबी थियो। पौडेलले दुईवटा पार्टी र दुई प्रवृत्तिका बीचमा चुनाव भएको बताए। ‘नेपालको राजनीतिमा एमाले नामको यस्तो पार्टीको उदय भएको छ, जसको विचारसँग कुनै पार्टीको विचारको तुलना नै हुँदैन। एमालेसँग तुलना हुने कुनै पार्टी छैन‚' उनले भनेका छन्।

स्थानीय चुनावमा पार्टीका रुपमा एक्लै चुनाव लडेको पार्टी एमाले मात्रै भएको उनको भनाई थियो।

सत्तारुढ पाँचदलीय गठबन्धनमा चुनाव लडेका पार्टीलाई उनले पार्टीको रुपमा नभई गठबन्धनको बलमा चुनाव जितेको आरोप पनि लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.