‘नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै छ’

|

काठमाडाैं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान पाँच दलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको बताएका छन्। 

साेमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकार लामो समयसम्म रहँदा देशलाई श्रीलंकाको बाटोतर्फ लैजाने चिन्ता प्रकट गरेका हुन्। 

‘यो सरकार स्वार्थका लागि मात्र बनेको हो, यो सरकार बन्दै गर्दा मुलुकको आर्थिक अवस्था वचतमा रहेको तर अहिले खर्बौ ऋणमा पुगेको छ। महंगी दोब्बरभन्दा बढी बृद्धि भएको छ । पूँजीगत खर्च लज्जास्पद छ । जसले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको छ’ उनले भने,  ‘बजेट निर्माणका क्रममा जे जस्ता हर्कत भएका कुराहरू बाहिर आए, त्यो एकप्रकारको राष्ट्रघात हो । यसले माफियातन्त्रलाई अझ भनौं दलाल नोकरशाही पुँजीवादलाई प्रश्रय गरेको देखिन्छ ।’ 

दुनियाँमा कहीँ पनि गठबन्धनले समृद्धि ल्याएको छैन भन्दै उनले विकासको लागि नीतिगत नेतृत्व चाहिने बताए। 

‘नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै छ । कांग्रेसले त नीतिगत नेतृत्व नै गुमाइसकेको छ, गठबन्धन त स्वार्थका लागि मात्र बनेको हो’ उनकाे भनाइ छ,  
 ‘वर्तमान सरकारका हरेक गतिविधि नेपाली जनताको लागि अभिशाप बनेका छन्, यसलाई जतिसक्दो चाँडो हटाउनुपर्छ । निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनबाटै जनताले छिनोफानो गर्छन्।’

चुनावको मिति घोषणा भएपछि संसदको भूमिका निष्कृय हुने भए पनि सङ्कटको बेला काम लाग्छ भनेर जोगाएर राखेको बताए। 

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग राम्रो नियतले नलगाइएको भन्दै उनले यसको छिनोफानोमा सत्तापक्षको व्यवहार चरम लापरवाहीपूर्ण रहेको बताए। 

‘फैसलाहरू स्वार्थमा आधारित, लेनदेनमा आधारित भयो भन्ने अर्थमा प्रधानन्यायाधीश माथि महाअभियोग लगाइयो । त्यो त सौदाबाजी हो । त्यसमा त दुई पक्ष हुन्छ’ उनले भने,  ‘त्यस अर्थमा दोषी एउटा मात्र हुँदैन। प्रधानमन्त्री निर्दाेष हुने प्रधान न्यायाधीश मात्र दोषी हुने हुँदैन । एउटालाई दोषी देखाएर अर्को पानीमाथिको ओभानो बन्ने गठबन्धनका नेताहरूको प्रयास गलत हो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.