|

खोटाङ : जनता समाजवादी (जसपा) खोटाङका जिल्ला र प्रदेश समितिमा रहेका नेता कार्यकर्ताले ठुलो संख्यामा पार्टी छाडेका छन्। 

जसपाका केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक बहादुर थापा लगायत ३८ जनाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृति हावी भएपछि आफुहरुले पार्टी छाड्न बाध्य भएको नेताहरुले बताएका छन्। 

नेतृत्वले सांगठनिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेकाले उक्त पार्टीमा बसिरहन उचित नरहेको उनीहरुको निष्कर्ष छ । 

जसपा खोटाङको ५३ सदस्य रहेको सचिवालयमा २३ जनाले पार्टी छाडेका छन्। केन्द्रिय सदस्य मदन राई र सुर्य राईले यस अघि नै पार्टी परित्याग गरेको घोषणा गरिसकेका हुन्। सिद्धान्त राम्रो भए पनि व्यवहारमा लागू नभएपछि जसपाबाट बाहिरिएको प्रदेश कमिटि सदस्य मोहन गुरुङले बताए। 
पार्टीमा विचार भन्दा पनि व्यक्तिवाद हावी र गुट–उपगुट निर्माण भएपछि सबैको सल्लाहले पार्टी छाड्ने घोषणा गरेको जिल्ला अध्यक्ष थापाको भनाइ छ।

जसपा छाडेपनि समावेशी सु–शासन तथा समृद्धि र समाजवादको अभियानकालागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यामबाट जनता र परिवर्तनको पक्षमा निरन्तर उभिने नेताहरुको भनाइ छ। जसपाबाट बाहिरिएका नेताहरुलाई अवको यात्रा कता ? भन्ने पत्रकारहरुको प्रश्नमा अन्य पार्टीमा जाने वा स्वतन्त्र रहने भन्ने विषय छलफल भइरहेको जिल्ला अध्यक्ष थापाले बताए। 

यद्यपी डा. बाबुराम भट्टराई पक्षले निर्माण गरेको नेपाल समाजवादी पार्टी (नेसपा) मा भने नजाने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.