|

अफगानिस्तानको उत्तरी क्षेत्र परवानमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ३१ जनाको मृत्यु हुनाका साथै १७ जना घाइते भएका छन्।

तालिबान नियन्त्रित बख्तर राज्यको समाचार समितिले दर्जनौँ वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ। हिन्दुकुश पर्वत शृङ्खलामा अवस्थित देशको पहाडी प्रान्त परवान मूसलधारे वर्षापछिको बाढीले धेरै आवासीय भवन र सयौँ एकड खेतीयोग्य जमिनमा क्षति भएको छ।

 बाढीका कारण परवान–बम्यान राजमार्ग अवरुद्ध भएको छ पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जशिर प्रान्तलगायत अन्य धेरै प्रान्तमा पनि त्यसको असर परेको छ।

 विगत केही दिनदेखिको अविरल वर्षा र आँधीले देशका पूर्वी र मध्य क्षेत्रका तीन प्रदेशका अनेक गाउँबस्ती पनि प्रभावित भएका छन्। बाढीले सयौं आवासीय संरचना, हजारौँ एकड खेतबारी र दर्जनौं बगैँचामा क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन्।

करिब दुई साताअघि पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा आएको बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने धेरैजना घाइते भएका थिए।

पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानकको बाढीले ठूलो धनजनको क्षति भएको तथा करिब दुई हजार नौ सय घरमा क्षति भएको छ। सडक र पुलहरू जस्ता महत्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन्। मनसुनी वर्षा र बाढीका कारण अफगानिस्तानमा चार सय जनाको मृत्यु भइसकेको बताइएको छ।

यसैबीच, अफगानिस्तानको मौसम विज्ञान विभागले भोलि देशभरका २२ प्रान्तमा भारी वर्षा र बाढीको सम्भावना रहेको जनाउँदै सबैलाई सतर्क रहन चेतावनी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.