‘युद्धमा लडेर मरेकाको सालिक छैन‚ आफ्नाको चाहिँ जाँड खाएर मरेकाको सालिक बनाएको छ’

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग कुनै लक्ष्य नभएको टिप्पणी गरेका छन्। 

पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस ढोडको भए पनि लौरो नटेकी उभिनै नसक्ने भएको बताएका हुन्। 

उनले भने, ‘मैले शेरबहादुरजी भनेको होइन कांग्रेस एक्लै उभिन सक्दैन। अरूसँग बस्ला तर एमालेसँग कांग्रेस अखडामा बस्नै सक्दैन। ५/७ वटा साथीको पाखुरा नसमाती हिँड्न सक्दैन। विचारशून्य छ। भोलि उठी कहाँ जाने भन्ने थाहा छैन? आज कहाँ जाने थाहा छैन।’

एमालेले राम्रो काम गर्न लाग्यो भनेर गठबन्धन बनाएर रोक्न खोजेको बताए। कांग्रेसले प्रजातन्त्र छाडेर गठबन्धनभन्दा बाहिर सोच्न छाडेको दाबी गरे। गठबन्धनका शीर्ष नेताको ध्यान जहान परिवारभन्दा बाहिर नभएको बताए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै झूटको सहारा लिएको आरोप उनले लगाए। 

‘माओवादीको सन्दर्भमा केही भन्नु छैन। १७ हजार मान्छे मारेर ध्वस्त पारिसकेपछि चुनावको बेलामा मजाले ढाँट्छ। चुनावपछि कहाँ छन् थाहा छैन? स्कुल र कलेज छोडाएकाहरू कहाँ छन्? जाँड खाएर मरेकाको सालिक बनेको छ। युद्धमा लडेर मरेकाको सालिक बनाएको छैन‚’ उनले भने, ‘आफ्नाको चाहिँ जाँड खाएर मरेकाको सालिक बनाएको छ।’

अहिले प्रचण्डले सबै छाडेर कम्युनिष्ट सिध्याउँछु भनेर कांग्रेससँग हिँडेको आरोप लगाए। माओवादीलाई जनताले चिनिसकेकाले अब त्रसित हुनुपर्ने कुनै कारण नभएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.