भोलि मानव स्रोत विकास केन्द्रमा तालाबन्दी

|

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्का कर्मचारीहरू यतिखेर विभिन्न माग लिएर आन्दोलित छन्। परिषद्ले यसअघि नै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ। कर्मचारी परिषद्‌का अनुसार साउन २२ गते शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाए।

सोही दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ज्ञापनपत्रसहित जानकारी दिए। ३१ गते पत्रकार सम्मेलन गरे। भदौ १ गते देशभरका विद्यालय कर्मचारीहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी,भक्तपुरमा ११ बजेदेखि ४ बजेसम्म धर्ना कार्यक्रम राखी कोण सभा गरेका थिए।

परिषद्का महासचिव शान्तिनाथ योगीले भोलि (शुक्रबार)शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा अनिश्चितकालीन धर्ना तथा कार्यालयमा तालाबन्दी गर्ने जानकारी दिए। ‘सरकारले माग सुनुवाइ गरेन‚ भोलि हामी कार्यालयमा तालाबन्दी गर्दै छौँ’, उनले भने। 

‘राज्यबाट नियोजित ढंगले हेपियो र बेवास्ता गरियो’

सरकारले साउन १ गतेबाट लागु हुने गरी १५ प्रतिशतले बढाएर तलबमान, ग्रेड र प्राविधिक ग्रेड कायम गरेको छ। जस अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक माध्यमिक (प्रथम श्रेणी)को नयाँ तलब ६८ हजार एक सय ४५ कायम भएको छ।

निम्न माध्यमिक (प्रथम श्रेणाी)को ५८ हजार ९४ रुपैयाँ तलब कायम भएको छ। त्यस्तै प्राथमिकको एसएलसी उत्तीर्ण (प्रथम श्रेणाी)को हाल ५५ हजार ३३७ तलब कायम भएको छ।

तर कर्मचारी परिषद्का महासचिव योगीले विद्यालय कर्मचारीको तलब अत्यन्तै न्यून रहेको बताए। ‘अहिले मासिक लेखापालको तलब १३ हजार ५ सय छ, कार्यालय सहयोगीको ८ हजार छ, यति तलबले कसरी आफू र परिवार धान्ने?,’उनले भने।

कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारसमक्ष बेला–बेला ज्ञापनपत्र, बिन्तीपत्र,ध्यानाकर्षणपत्र,स्मरणपत्र दिँदा पनि माग पूरा नभएकाे  बताए।

उनले आव २०७८।०७९ को बजेट वक्तव्यबाट न्यूनतम पारिश्रमिक उपलब्ध गराउने बजेट वक्तव्यले विद्यालय कर्मचारीमध्येका विद्यालय सहायक लेखापाललाई मानमर्दन हुने खालको गतिविधि भएकाे उनको भनाइ छ।

‘कर्मचारीलाई सेवा सुविधा छैन’‚ उनले भने, ‘वास्तवमा विद्यालय कर्मचारीहरूलाई राज्य पक्षबाट नियोजित ढंगले हेपाहा गरिरहेको छ। बेवास्ता भइरहेकाे मात्रै नभएर दमनको नीति अपनाई परिदृश्यले विद्यालय कर्मचारीहरूमा आघात पुगेको छ।’

कर्मचारी परिषद्का अनुसार देशभर २९ हजार ३५ जना सामुदायिक विद्यालयमा कर्मचारी छन् तर सरकारले उनीहरूको मर्का भने बुझ्न सकेको छैन।

यस्ता छन् माग

-विद्यालय कर्मचारी सहायक(लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने
-विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने
-संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने
-सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने
-संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलाई एकपटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने
-६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने
-विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने

विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक-पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरुकाे माग छ। यी माग पूरा नभएसम्म देशभरी आन्दोलन चर्काउने परिषद्को चेतावनी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.