|

काठमाडौं : काठमाडौंमा तिनदिने तामाङ ज्ञान महोत्सव हुने भएको छ। तामाङ पहिचान दिवसको अवसरमा भदौ ४, ५ र ६ गते बौद्धस्थित तामाङ भवनमा महोत्सव हुने आयोजकले जनाएको छ। भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट बौद्धमा हुने महोत्सवको तयारी पूरा भएको महोत्सव संयोजक निष्णु थिङले दिए। महोत्सवमा १६ वटा कार्यपत्र प्रस्तुत हुनेछन्।

तामाङ समाजका ६ जना ज्येष्ठ नागरिकका स्मृतिवाचन सत्र र तीनवटा विषयमा प्यानल डिस्कसन पनि हुनेछ। कार्यपत्रहरूमा सरकारी कामकाजमा तामाङ भाषा र तामाङ लोकसाहित्यः एक विमर्श र तामाङ मुक्ति आन्दोलनको अबको बाटो, तामाङ सीमान्तकरण, भाषा र मातृभाषामा शिक्षा, खगोलशास्त्र, सरकारी सेवा र संस्कृति, प्रविधिका क्षेत्रहरू समेटिएका छन्।

सातौँ तामाङ ज्ञान महोत्सव आयोजक समिति–२०७९ मा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालय छन्। त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमारी लामाले ‘तामाङको पेन्टिङमा अनुहारविहीनहरूका अनुहारः पहिचानको दावी, पत्रकार तथा कवि राजु स्याङतानले ‘तामाङ जातिको मधेस बसाइँ : सीमान्तदेखि सीमान्तसम्म’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

सन्जिला मोक्तानले ‘संरचनागत बहिष्करण, तामाङ र मृगौला बेचबिखन : ‘हिमला’ गाउँको कथा, दार्जीलिङका अमन मोक्तानले ‘एउटा सैद्धान्तिक खगोलशास्त्रीय अध्ययन’ डा. लोकबहादुर लोप्चनले विद्यालयमा शिक्षण माध्यमको दृष्टिकोण विषयमा प्रस्तुति गर्नेछन्। 

महोत्सवको उद्घाटन शनिबार बिहान ११ बजे तामाङ संस्कृति तथा विकास बोर्ड, कालिम्पोङ पश्चिम बंगालका सञ्जय मोक्तानले गर्नेछन्। विश्वविद्यालयमा तामाङ अध्ययनको सम्भावना, चुनौती र अवसर शीर्षकमा डा. ओमकारेश्वर श्रेष्ठ, डा. रमेश ढुङ्गेल, मोहन गोलेले भाग लिने आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.