‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

|

काठमाडाैं : नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तरराष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तरराष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो। 

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटी नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकोमा आफूहरूको सकारात्मक सहयोग र सद्‌भाव रहने बताए। 
 
नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरूले बताएकाे अध्यक्ष दाहालको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ। सो अवसरमा उनीहरूले गम्भीर मानवअधिकार उल्लङ्घनका घटना र पीडितको पुनरावेदनको अधिकारबारे चासो राखेका थिए। 

नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घ र अन्तरराष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा उनीहरूले देखाएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेका थिए। 

विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायको संवेदनशीलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तरराष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सफल हुने उनले विश्वास व्यक्त गरेका थिए। 

प्रेस नोटमा भनिएकाे छ, ‘वर्तमान गठबन्धन सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन लागिपरेको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.