|

 काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदै छ। 

अधिवक्ता मनिराम उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने भनी पेश गरेको निवेदन सर्वोच्च अदालतले दर्ता गर्नु भनी गत बिहीबार आदेश गरेको थियो। त्यसको आज सुनुवाइ हुन लागेको हो। आज यो मुद्दाको सुनुवाइ न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा तोकिएको छ। 

उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए। उनले पेश गरेको निवेदनलाई कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका थिए। 

दरपीठको आदेशविरुद्ध अधिवक्ता उपाध्यायले सर्वोच्च अदालतमै निवेदन दिएका थिए। निवेदन उपर सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमाको इजलासले दरपीठ आदेश बदर गर्दै निवेदन दर्ता गर्नू भनी आदेश दिएपछि बिहिबार रिट दर्ता भएको थियो। 

रिट निवेदनमा निर्वाचनको घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिने भएकाले त्यसयता गरेका सबै निर्णय र कामकारवाहीहरू बदर हुनुपर्ने मागसमेत छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा, सातवटै प्रदेश सभालाई विपक्षी बनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.