|

इलाम : राष्ट्रिय समावेशी आयोगको कार्यक्रममा खस आर्यको विरोध भएको छ।

इलामको सूर्योदय नगरपालिकामा सम्पन्न राष्ट्रिय समावेशी आयोग अल्पसंख्यक, सीमान्तकृत एवं अन्य लक्षित वर्गहरु र नगरपालिकासँगको छलफल कार्यक्रममा सहभागी मध्ये केहीले आयोगबाट खस आर्यलाई नै हटाउनुपर्ने भन्दै विरोध गरेका हुन्।

आयोगका पाँच पदाधिकारीमा खस आर्यको मात्र प्रतिनिधित्व भएको र आयोगको कार्यक्षेत्रभित्र पर्ने लक्षित वर्गअन्तर्गत खस आर्यलाई नै पहिलो बुँदा राखिएको भन्दै गैर खस आर्य समुदायका प्रतिनिधिहरुले विरोध जनाएका हुन्। उनीहरुले समावेशी आयोग असमावेशी भएको आरोप लगाएका छन्।

सूर्योदय नगरपालिका वडा नं ७ का वडाध्यक्ष लोक बहादुर चाम्लिङ र राष्ट्रिय प्रजातन्त्र पार्टी इलाम क्षेत्र नं १ का अध्यक्ष सन्तोष मोक्तानले समावेशी आयोगबाट खस आर्यलाई हटाउनुपर्ने भन्दै चर्को विरोध जनाए।

वडा नं १० का वडाध्यक्ष पेमा उर्गेन लामा, वडा नं ४ का वडाध्यक्ष शरण राई, नगर प्रवक्ता ख्याम भूजेल लगायतले समावेशीताका लागि संवैधानिक व्यवधान भए संशाेधन गरेर भएपनि सबै वर्गको अपनत्व हुने व्यवस्था लागू गरिनुपर्ने बताएका छन्। नेपाल आदिबासी जनजाति महासंघ सूर्योदय नगर समिति अध्यक्ष सोनाम योल्मो र सोनाम छिरिङ काजीले आजको कार्यक्रममा उठेका विषय संसद बैठकको छलफलमा लैजाने ग्यारेन्टी हुनुपर्ने बताए।

आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सिनाले खस आर्यलाई आयोगबाट हटाउनुपर्ने बिषयमा संविधान अध्ययन गर्न सुझाएका छन्। संविधानको धारा २५८ मा यसको गठन व्यवस्था र धारा २५९ मा काम कर्तव्य अधिकार प्रष्ट उल्लेख गरिएको भन्दै जनताका प्रतिनिधिले संविधान पढ्नुपर्ने उनले बताए।

राष्ट्रिय समावेशी आयोग ऐन २०७४ ले पनि यस आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा थप प्रष्ट बनाएको उनले बताएका छन्।

उनका अनुसार ११ वटा लक्षित वर्गहरुको विषयमा अध्ययन अनुसन्धान गर्ने, सरकारलाई सुझाव तथा सिफारिश गर्ने, समीक्षा, अनुगमन र मूल्याङकन गर्ने र सशक्तीकरण चेतनामूलक कार्यक्रम संचालन गर्ने जस्ता काम यस आयोगले गर्दछ।

आयोगकाे वर्तमान पदाधिकारी खस आर्यबाट परे भनेर विरोध र आलोचना गर्नुले समावेशिता नआउने उनको भनाई छ। आयोगले जातीय समानता मात्र नभएर कृषक, श्रमिक, महिला, पिछडीएका वर्ग, अल्पसंख्यक समुदाय, अपाङ्गता भएका मानिसलगायत सबै पक्षमा सामाजिक समानता कायम हुनुपर्छ भन्ने ध्येय राखेको अध्यक्ष तिमल्सिनाको भनाई छ।

कार्यक्रममा आयोगका सदस्य पुष्पराज तिम्सिनाले महिला आत्मनिर्भर भएमात्र समाज समुन्नत हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.