|

बारा : ‘असारदेखि मासिक १५ हजार ८५३ रुपैयाँ पाइरहेकी छु। मेरो खर्च टार्न छोराछोरीले सोच्नु परेको छैन, असाध्यै सजिलो भएको छ’, सुमित्रा श्रेष्ठले भावुक स्वरमा सुनाइन्।

सामाजिक सुरक्षाकोषबाट श्रीमान्‌को मृत्युपछि आश्रितले पाउने सुविधा पाएकी हुन् सुमित्राले। मृगौला फेल भएर डाइलासिस गर्दैगर्दा गत जेठ १ गते निधन भएका उनका श्रीमान् सूर्य नेपाल प्रा.लि.मा कार्यरत थिए। 

सुमित्रालाई जस्तै हरेक मजदुरका परिवारलाई सहज वातावरण दिन सामाजिक सुरक्षाकोष शुरु गरिएको कोषका निर्देशक उत्तमराज नेपालले बताए। पथलैया वीरगञ्ज औद्योगिक करिडोरलाई कोषसँग जोड्न आवश्यक सबै कार्यलाई सरल बनाउने उद्देश्यले कोषले बुधबार बाराको सिमरामा शाखा खोलेको हो। 

शाखाले केवाइसी अपडेट, योगदान संकलन लगायतका काम गर्नेछ। श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भर्चुअल माध्यमबाट उद्घाटन गरेको कार्यक्रममा बोल्दै नेपालले रोजगार दाता तथा योगदानकर्ताको हितका निम्ति कोषमा आबद्ध हुनुको विकल्प नभएको बताए। उनका अनुसार करिडोरका ९० प्रतिशत ठूला उद्योगहरू कोषमा आबद्ध भइसकेका छन्। 

कोषमा आबद्ध श्रमिकका लागि उपचार सेवा दिन हालका लागि वीरगञ्ज हेल्थ केयर र नेशनल मेडिकल कलेजसँग सम्झौता भएको नेपालले जानकारी दिए। कोषको सेवाअन्तर्गत औषधोपचार स्वास्थ्य तथा सुरक्षित मातृत्व, दुर्घटना र अशक्तता, आश्रित परिवार र पेन्सन तथा वृद्धभत्ता जस्ता ४ वटा योजना रहेका छन्।  

कार्यक्रममा सामाजिक सुरक्षाकोष दैनिक ज्यालादारीका लागि श्रमिकमैत्री नभएको गुनासो उठेका थिए।

सिमरा शाखाको पदभार ग्रहण गर्दै ऋषिराम पाण्डेले दैनिक ज्यालादारी श्रमिकका लागि उपयुक्त कार्यविधि बन्दै गरेको बताए। जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले कोषको प्रयासलाई सार्थक बनाउन योगदानलाई निरन्तरता दिन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.