|

ललितपुर : दान धर्म गर्दै काठमाडौंमा बिहीबार पञ्चदान पर्व मनाइँदै छ। हरेक वर्षको भाद्र कृष्ण त्रयोदशी प्रदोष व्रतका दिन यो पर्व मनाउने गरिन्छ।  

आफू मात्र लिने नभई अरूलाई पनि दिने प्रवृत्तिको उदाहरणको रुपमा यो पर्वलाई लिने गरिन्छ। नेवार समुदायअन्तर्गत रहेका बौद्ध धर्मावलम्बीहरूले यो पर्व मनाउने गर्छन्।

बज्राचार्य तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी आदि दान गरी यो पर्व मनाइने चलन छ। यसरी दान गर्दा बहा बही अथवा घरका आँगनमा दीपंकर बुद्धका मूर्ति , देवदेवी तथा पौवा चित्र सजाएर पञ्चदान गर्ने परम्परा रहेको छ।

काठमाडौं सहित भक्तपुर, साँखु, बुङमतीलगायत स्थानमा  दीपंकर बुद्धको मूर्ति अगाडि राखेर शाक्य, बज्राचार्य समुदायले  पञ्चदान मनाइरहेका छन्। यसअघि श्रावण शुक्ल अष्टमीका दिन यल पन्चदान पर्व मनाइएको थियो।

पाटनमा मनाउने भएकाले यसलाई यल पन्चदान भनिएको हो। स्वार्थमा रुमलिएको मानवलाई त्याग गरेर अरुलाई पनि बाडौँ भन्ने संस्कतिको विकास यो पर्वले गरेको छ , संस्कृतिविद प्रा डा नरेश बज्राचार्य भने, ‘दान गरेको खण्डमा दुख कष्ट नाश भई सुख शान्ति मिल्ने विश्वास छ।’  बुद्ध धर्मका विभिन्न सिद्धान्तमा दान पनि महत्वपूर्ण भएकाले दान गरिने तर्क उनको छ।

 ‘बुद्ध धर्मको अभ्यासमा दान नभई हुन्न’, उनले भने‚ ‘दानविना मानिसको सच्चा चरित्र देखिदैन। उनका अनुसार १३–१४ वर्ष पहिले पन्चदान पर्व लोप हुन लागे पनि अहिले सबै बुद्धिजीवीहरुले मिलेर सामाजिक चाडका रुपमा मनन गर्दै सामूहिक रूपमा मनाउन थालिएको छ।

‘दानका नाममा अनावश्यक वस्तु पनि दान गर्नाले धर्म र संस्कृतिमा नकारात्मक असर पर्न सक्छ’, संस्कृतिविद् शाक्यले भने‚ ‘कतै कतै रक्सी पनि दान गर्छन् , जसले संस्कृतिमा नकारात्मक असर पर्न सक्छ।’

पन्चदानका अवसरमा काठमाडौँको स्वयम्भूमा विशेष मेला लाग्ने गर्छ। त्यहाँ पुगेका बौद्ध धर्मावलम्बीले पञ्चदान गरेका थिए।  पञ्चदानको अघिल्लो रात स्वयम्भूमा छाया दृश्य हेर्ने गरिन्छ। त्यहाँ रहेको स्वयम्भूको छाया बादलमा पुग्ने विश्वास छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.