|

काठमाडौं :  घनेन्द्र ओझाका रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ।

१५७औँ मोतीजयन्तीको अवसरमा अनाममण्डलीले शनिबार आयोजना गरेको कार्यक्रममा एल्बम लोकार्पण गरिएको हो।

गजलकार करुण थापाले नेपाली गजल संगीतमा आउने क्रम क्रमशः बढिरहेको भन्दै घनेन्द्रले बहरका मात्र गजलहरूको एल्बम तयार पारेर नेपाली गजल क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले एल्बम प्रकाशन सराहनीय कदम रहेको बताए।

पूर्व मुख्यसचिव एवं साहित्यकार डा. भोजराज घिमिरेले गजल आफैँमा बहरमै लेखिने भएकाले शास्त्रीय र गैरशास्त्रीय बहरका वा गैरबहरका भनिरहनु नपर्ने धारणा राखे। डा. घिमिरेले अब नेपाली गजलमा संगीतको लहर आउने आँकलन गरे।

प्रा.डा. कृष्णहरि बरालले नेपाली गजल गायनको शैली, नेपाली गजल संगीतको शैली नेपालीकरण भइरहेको र सोहीअनुसार पछिल्लो समय नेपाल गजलमा संगीत भरिँदै आएको बताए। यस एल्बमका रचनामा नेपाली शैलीकै अर्धशास्त्रीय शैलीमा सुन्दर संगीत भएको उनको भनाइ छ।

गजलकार राधा कणेलले घनेन्द्र नेपाली गजल परिष्कारका लागि लामो समयदेखि लागिरहेका र त्यसकै पछिल्लो कार्य शुभेच्छा एल्बम रहेको बताइन्। ​गजलकार रूपक अल‌ंकारले संगीतमा आएपछिको गजलको स्वाद नै भिन्न हुनेरहेछ भन्ने एल्बमले प्रमाणित गरेको बताए। 

एल्बममा नेपाली गायनका चार पुस्ता समेट्ने प्रयास सफल भएको गजलकार ओझाले बताए।  ‘हामीले बहरबद्ध गजलहरूको एल्बमको अभाव त देख्यौँ नै’, उनले भने, ‘त्यससँगै एउटै एल्बममा  चार पुस्ता जोड्ने सोच बनाएर यो काम गरेका हौँ।’

नेपाली गजल संगीतका क्षेत्रमा बहरमा मात्र लेखिएका गजलहरूको एल्बम हालसम्म नपाइएको र बहरबद्ध गजललाई एल्बमकै रूपमा ल्याएको संगीतकार श्रेष्ठले बताए।

एल्बममा पहिलो पुस्ताबाट ज्ञानु राणा, दोस्रो पुस्ताबाट आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, निशा देशार र सन्तोष श्रेष्ठ तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीको स्वर समेटिएको छ। एल्बम कामना डिजिटल प्रालिले ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.