|

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउने भएका छन्। पाँच सदस्यीय भ्रमणदलका साथ उनी भदौ १९ गते नेपाल आउने नेपाली सेनाले जनाएको छ।

पाँच दिवसीय भ्रमणमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारद निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिने विविध सामग्रीहरुको हस्तान्तरणलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्नेछन्।

भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेनाबीच परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्।

साथै आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.