|

सिमरा : बाराको सिमरामा आगामी भदौ २९ देखि अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा प्रतियोगिता हुन लागेको हो।

क्लबले बुधबार पत्रकार सम्मेलन गरी स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता असोज १ गतेसम्म चल्ने जनाएको छ।

प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक हरि चौधरीले बताए। विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार रुपैयाँ पाउने संयोजक चौधरीले जानकारी गराए।

प्रतियोगितामा विदेशी टिमको समेत सहभागिता रहने छ। नेपाल र भारतका विभिन्न भेट्रान कप फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको सिमराले दोस्रो पटक अन्तरराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेको हो।

यसअघि देशभरीका भेट्रान क्लबको सहभागितामा २०७४ सालमा प्रथम संस्करण आयोजना भएको थियो। देशभरीबाट सहभागी हुने क्लबबाट राष्ट्रिय टोलीका पूर्व खेलाडी समेतले खेल्ने भएकोले प्रतियोगिता रोमाञ्चक हुने अपेक्षा आयोजकको छ।

जीतपुरसिमरा गोल्डकपले सिमरालाई राष्ट्रिय स्तरमा चिनाउन र फुटबलको विकास गर्न सहयोग गरिरहेको अवस्थामा भेट्रान प्रतियोगिताले अझै उचाइ थप्ने अध्यक्ष राजकपुर राउतले विश्वास व्यक्त गरे। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मुख्य सहयोगी स्व. मञ्जुदेवीका छोरा श्यामबाबु गुप्ताले सिमरामा खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। निरन्तर फुटबलको गतिविधि हुनुको प्रतिफलका रुपमा विभिन्न उमेर समूहका राष्ट्रिय टिममा सिमरासहित बाराका खेलाडीले स्थान पाएको गुप्ताको भनाई थियो।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका गुप्ताले फुटबल प्रतियोगितालाई आफ्नो आमाको नाममा आयोजना गर्न पाउँदा गौरव महशुस गरेको बताए। प्रतियोगितामा करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबले जनाएको छ।

सिमरा भेट्रानका अध्यक्ष राज कपुर राउतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, क्लबका उपाध्यक्ष समीर आले लगायतको उपस्थिति रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.