|
फाइल

बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्र्तगत आज ‘ठूली गौरा’ मनाइँदैछ।  व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रुपमा लिने गरेका छन्। 

व्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ।  आज अमुक्ताभरण सप्तमीका दिन व्रतालु महिलाहरू एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका फुनडी विष्टले बताए।

गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर व्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको  छ।

व्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ। यसका साथै साँझको समयमा व्रतालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ।

आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरूले धारण गर्ने गर्दछन्।  गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी व्रतालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ।

गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताएश्र

तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्।  गौराको समयमा सामूहिक रुपमा देउडा,ठाडो खेल,ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरू पनि खेलिने गर्दछन्।

यसैबीच प्रदेश सरकारले गौराको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.