|

कञ्चनपुर : दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ। भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो।

विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ। पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन्। यसअघि पैदल यात्रु र दुई पाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो ।

महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ। दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरिसिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेबल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताए।

'हामीलाई सरसामान ल्याउन धेरै समस्या हुन्थ्यो‚ शारदा ब्यारेजमा भारतीयले ढोका नखोल्ने, घण्टौँ कुर्नुपर्ने बाध्यता थियो', उनले भने, 'सबैभन्दा ठूलो समस्या बिरामी अस्पताल लैजान हुन्थ्यो महेन्द्रनगर जान चारपाङ्ग्रे सवारी शारदा ब्यारेजबाट मात्रै सम्भव थियो।'

दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको एक हजार ४९५ मिटर लामो झोलुङ्गे पुलले पनि निकै राहत दिएको थियो । मानिसको आवतजावत र दुईपाङ्ग्रे सवारीसाधनले महाकाली तर्न यही झोलुङ्गे बनेपछि मात्र सम्भव भएको थियो ।

'शारदा ब्यारेजमा भारतीय पक्षको एकाधिकार भएका कारण यो बाटो आवतजावत गर्दा धेरै दुःख झेल्नुपरेको थियो', वडाध्यक्ष धनाडीले भने, 'अहिले पुल बन्दा आफ्नै सवारीसाधन प्रयोग गरेर महेन्द्रनगर सदरमुकाम आवतजावत गर्न सहज भएको छ।'

महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार बढी जनसंख्या छ। 'महेन्द्रनगर सदरमुकाम आउन भारतको घुमाउरो बाटो प्रयोग गनुपर्ने बाध्यता हटेको छ', दोधारा चाँदनीवासी आकृति कसेराले भनिन्, 'अब भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने छैन। महाकालीमा बनेको पुलले धेरै सजिलो भएको छ।'

उनले यसअघि महेन्द्रनगरबाट सरसामान दोधारा चाँदनी ल्याउन निकै सकस हुने गरेको बताइन्। पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले पुलको काम सम्पन्न भइसकेको बताए।

'अहिले पुलबाट अस्थायी रूपमा दोधारा चाँदनी आवतजावत भइरहेको छ', उनले भने, 'पुलको पहुँच मार्ग र पोखरी निर्माण गर्न बाँकी छ।'

उनका अनुसार पुल निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ भने ८१ प्रतिशत वित्तीय प्रगति भएको छ। ८०० मिटर लम्बाइ र २३.८ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने ६ किलोमिटर सडक कालोपत्र भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.