|

काठमाडौं : १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न आज अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।

पुर्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि पक्राउ गर्न सक्छ। तर उनी हाल नेपालमा छैनन्। घटना भएको भोलिपल्टै अर्थात् भदौ ६ गते केन्यामा हुने टी–२० खेलका लागि गएका उनी हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसियामा छन्।

नेपाल क्रिकेट संघ (क्यान)सँगको कुराकानीमा उनले जारी प्रतियोगिता सकेपछि मात्रै फर्किने बताएका छन्। सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैका तलावाजको अन्तिम लिग खेल सेप्टेम्बर २५ अर्थात असोज १५ गतेसम्म चल्नेछ।

अझै करिब एक महिनासम्म सन्दीप नफर्कने सुँइको पाएपछि प्रहरीले विदेशबाटै पक्राउ गर्न औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गर्ने तयारी गरेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले नेपाल नआएमा इन्टरपोलको सहयोगमा पक्राउ गर्न सकिने बताएका छन्। इन्टरपोलबाट पुर्जी जारी गर्न पनि अदालतको अनुमति माग्नुपर्छ।

सन्दीपले क्यानसँग घटनामा आफू निर्दोष रहेको बताएको नेपाल क्रिकेट संघ (क्यान) सचिव प्रशान्त मल्लले जानकारी दिए।

यद्यपि क्यानले उनलाई आजै राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ। तर, उनी दोषी रहेको र निर्दोष रहेको भन्ने फैसला हुनुअघि कानुनी लडाइ लड्न सहयोग गर्ने उनले बताए।

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया बालिकामाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा गत मंगलबार जाहेरी परेको थियो।

प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ। प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ।

लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.