|

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गठबन्धन नेतृत्वको सरकारले नेपालमा लोकतन्त्रको नाममा लुटतन्त्र मचाइरहेको आरोप लगाएका छन्।

राप्रपा नेपालले शनिबार हेटौँडामा गरेको कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै अध्यक्ष थापाले गठबन्धनले लोकतन्त्रको नाम गरेर देशमा लुटतन्त्र चलाइरहेको आरोप लगाएका हुन्।

नेपाल अन्तरराष्ट्रिय शक्तिको चलखेल केन्द्र बनेको भन्दै उनले सत्तामा टिक्न विदेशीको आशीर्वाद चाहिन्छ भन्ने मानसिकता रहेको दाबी गरे। निर्वाचन नजिकिरहँदा गठबन्धनको सरकारले देशमा सिन्डिकेट लगाएको समेत उनले आरोप लगाए।

‘कुनै एउटा व्यापारीले आफ्नो व्यापार बढाउन सिन्डिकेट लगाएजस्तो गठबन्धनको सरकारले बाह्य शक्तिको उक्साहटमा स्वार्थको रक्षा गर्दै फेरि देश लुट्न सिन्डिकेट लगाएको छ’, थापाले भने। उनले विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठबन्धन निर्माण भएको जिकिर गरे। नेकपा एमालेलाई हराउन विदेशीहरु लागेको बताउँदै राप्रपा तहसनहस पार्न पनि विदेशी शक्तिको हात रहेको उनको भनाइ छ।

कालापानी र लिम्पियाधुरा समेटेको चुच्चे नक्सा सार्वजनिक गरेपछि केपी ओलीलाई सरकारबाट हटाएको उनको दाबी थियो। कुनै समय एक अर्काको टाउको काट्न तम्सने माओवादी र कांग्रेसको सत्ता गठबन्धन के कारणले भयो भन्ने प्रश्नको जवाफ जनताले बुझिसकेको भन्दै अध्यक्ष थापाले राष्ट्रियता पक्षधरलाई कमजोर पार्न विदेशी शक्तिले कांग्रेस–माओवादीको प्रयोग गरेको बताए।

आफू केपी शर्मा ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्रसंघको बैठकमा नाकाबन्दीविरुद्ध कडा रूपमा उभिएका कारण राप्रपालाई समेत बाहिरी शक्तिले तहसनहस गरिदिएको थापाले आरोप लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.