|

धनगढी : नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ उडेका छन्।

मन्त्रीत्रय बडू, रावल र धामी राहत सामग्री लिएर दार्चुलातर्फ लागेका हुन्।

बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बललगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली त्यहाँतर्फ उडेको बताइएको छ। दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा परेर ५ जनाले ज्यानै गुमाएका छन्।

यस्तै बाढीपहिरोमै परेर महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको दार्चुला प्रहरीले जनाएको छ। बाढीपहिरोमा परेर ठूलो धनजनको क्षति भएपछि दार्चुलाको नौगाड गाउँपालिका र महाकाली नगरपालिका शोकमा डुबेको छ। प्रहरीका अनुसार बाढीपहिरोमा परी ९ जना बेपत्ता भएका छन् भने ८ जना घाइते रहेका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको खलंगा अस्पतालमा उपचार भैरहेको छ।

पहिरोमा फसेकाहरूलाई अहिले पनि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ। उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

यस्तै सरकारका गृहमन्त्री बालकृष्ण खाणले पनि बाढीपहिरोमा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। उनले आवश्यकताअनुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.