|

काठमाडौं : सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा सोमबार सहमति हुन सकेन। अनौपचारिक छलफल र परामर्शपछि  विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भए पनि प्रक्रिया टुंगिन नसकेको हो। 

विधेयक प्रस्ताव गर्ने विभागीय मन्त्री हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनको सूचीमा राख्न सहमत भए पनि नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको अडानका कारण सहमति नभएको हो। अन्य दलहरूले भने हत्यालाई गम्भीर सूचीमा राख्न विधेयकमाथि संशोधन नै दर्ता गरेका छन्। 

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मंलबारसम्म विधेयक सहमतिमै टुङ्गोमा पुर्‍याउने बताए। ‘केही विषयसँग सम्बन्धित कसुरबारे अझै सहमति बन्न सकेको छैन। धेरै विषयलाई समितिले परिमार्जन गरिसकेको छ’, उनले भने, ‘मंगलबारसम्म हामी सहमतिमै विधेयकलाई टुंगोमा पुर्‍याउँछौँ।’ प्रतिनिधि सभाको कार्यकाल नै अन्तिम चरणमा रहिसकेको अवस्थामा विधेयकमाथिको दफाबार छलफल टुंगोमा पुग्न नसकेको हो। मंगलबारसम्म समितिले विधेयकमा सहमति कायम गरे बुधबारको प्रतिनिधि सभामा पेस र पारित हुनेछ। 

त्यसपछि विधेयक पुनः राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाले विधेयक पारित गरेर सोको जानकारी प्रतिनिधि सभामा पठाउनुपर्नेछ। प्रतिनिधिसभाले कुनै संशोधन भएमा स्वीकारसमेत गरेर असोज १ गतेभित्रै प्रमाणीकरणका लागि पठाइसक्नुपर्नेछ। पाँच दिनभित्र बाँकी सम्पूर्ण प्रक्रिया पूरा हुनुपर्नेछ।

समितिका सदस्य माओवादी केन्द्रका सांसद देव गुरुङले हत्यालाई मानव अधिकार उल्लंघनको गम्भीर सूचीमा राख्न असहमति जनाएका हुन्। सत्तारूढ दल नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने यसलाई गम्भीर सूचीमा राख्न सहमत छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.