|

गुल्मी : मंसिर ४ गते हुने संघीय र प्रादेशिक चुनावमा गुल्मीबाट राजनीतिक दलहरुले पुरानै उम्मेदवारलाई सिफारिश गरेका छन्। 

देशमा जताततै युवा र नयाँ अनुहारको अपेक्षा मतदाताले गरे पनि गुल्मीमा भने त्यसो नहुने दलहरूले गरेको उम्मेदवारी सिफारिशबाट स्पष्ट भएको छ।

राजनीतिक पार्टीहरूले पुरानै सोच र पुरानै विचारको सम्मानका नाममा पुरानै नेताहरूलाई केन्द्र र प्रदेशमा निर्वाचनका लागि सिफारिश गरेकाले उनीहरूबाट केही आशा नरहेको तम्घासका स्थानीय सूर्य सुनारले बताए। दलहरूले पुरानै अनुहार सिफारिश गरेकाले नयाँ सोच र विकास तिनै पुरानाबाट हुन नसक्ने भएकाले युवा छान्नुपर्ने उनको भनाई छ। 

तम्घासकै अर्का स्थानीय घनश्याम पाण्डेले आम जनताको अपेक्षाभन्दा बाहिर गएर राजनीतिक पार्टीले उम्मेदवार सिफारिश गरेको बताए। युवाबाट जनताले केही आशा गरे पनि राजनीतिक दल त्यसका लागि अझै तयार नरहेको उनको तर्क छ।

जिल्लाको छत्रकोट गाउँपालिका–३ का स्थानीय जनक पन्तले समानुपातिक र प्रदेशसभामा केही नयाँ अनुहार पनि सिफारिश भएकाले केही आशा यसपटक गर्न सकिने बताए। 

गुल्मीमा नेकपा एमालेको तर्फबाट क्षेत्र २ बाट बहालवाला सांसद गोकर्णराज बिष्ट नै उम्मेदवारका लागि सिफारिश भएका छन्।  बिष्टसँगै एमाले नेता राजेन्द्र अर्याल र शेषकान्त गौतम पनि सिफारिश भएका छन्। 

क्षेत्र १ बाट नेकपा एमालेका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य प्रदीपकुमार ज्ञवाली एकल सिफारिश भएका छन्।

काँग्रेसका तर्फबाट चन्द्र भण्डारी, योगराज कँडेल र पारिश्वर ढकाल सिफारिश भएका छन्। सिफारिश भएका ज्ञवाली बहालवाला सांसद, भण्डारी अघिल्लो पटक ज्ञवालीसँग पराजित, कँडेल महाधिवेशन प्रतिनिधिमा पराजित र ढकाल पालिका अध्यक्षमा पराजित नेता हुन्।

काँग्रेसका तर्फबाट चन्द्रबहादुर केसी, डा दामोदर भुसाल र त्रैलोक्यप्रताप सेन सिफारिश भएका छन्। सिफारिश भएकामध्ये बिष्ट बहालवाला सांसद, केसी अघिल्लो पटक बिष्टसँग पराजित र सेन त्योभन्दा अगाडि बिष्टसँग नै पराजित नेता हुन्। नयाँ केही अनुहार सिफारिश भए पनि टिकट पाउने सम्भावना शून्य छ।

नेकपा माओवादी केन्द्र गुल्मीले निर्वाचन क्षेत्र १ को संघीय प्रत्यक्षतर्फ पुष्पकमल दाहाल प्रचण्ड, लक्ष्मण पन्त र मनिराम ज्ञवालीलाई सिफारिश गरेको छ। सोही निर्वाचन क्षेत्रमा प्रदेश क तर्फ सुदर्शन बराल, सिर्जना तरामु र लीलबहादुर केसीलाई सिफारिश गरेको छ।

प्रदेश ख तर्फ अशोक थापा, रामचन्द्र कंडेल र अशोक श्रेष्ठलाई सिफारिश गरेको छ।

माओवादी केन्द्रले निर्वाचन क्षेत्र २ को संघीय प्रत्यक्षतर्फ वीरबहादुर कार्की, निमबहादुर पाण्डे र भीमकान्त भण्डारीलाई सिफारिश गरेको छ।

सोही क्षेत्रको प्रदेश क तर्फ खुमबहादुर थापा, ठाकुर पाण्डे र दुर्गा बिकलाई सिफारिश गरेको छ।

प्रदेश ख तर्फ बुद्धिबहादुर जिसी, विनिता रोका पोखरेल र गोपाल कुँवरलाई सिफारिश गरेको नेकपा माओवादी केन्द्र गुल्मीका जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए।

एकीकृत समाजवादीले गुल्मी क्षेत्र १ को संघीय प्रत्यक्षतर्फ प्रमेश पोखरेल र क्षेत्र २ बाट एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई सिफारिश गरेको सो पार्टीका उपाध्यक्ष राम मल्ल ठकुरीले जानकारी दिए। 

नेकपा एमालेका जिल्ला सचिव गणेश श्रीपालीले केन्द्रीय राजनीतिमा राम्रो दख्खल भएका कारण बिष्ट र ज्ञवालीलाई सिफारिश गरेको दाबी गरे। 

गुल्मीमा पार्टीहरू एक्लाएक्लै निर्वाचन गए एमालेलाई दुवै क्षेत्रमा सहज छ। गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएमा दुवै क्षेत्रमा गठबन्धनलाई सहज हुने आँकलन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.