|

सुर्खेत : शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेतको पश्चिम क्षेत्रका धेरै ठाउँमा क्षति पुर्‍याएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।

चौकुने गाउँपालिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुनेकै वडा नं ९ रागमाविद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा करिब १० घरमा क्षति पुगेको छ। वडा नं २, ३, ४ र १० का केही बस्तीमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ। चौकुने–२ मा एक, वडा नं ४ मा दुई घरमा क्षति भएको छ। वडा नं ३ गोभ्रामा आएको पहिरोले सात  घर उच्च जोखिममा रहेका छन् भने बेतानखोलबाट आएको बाढीले तीन सय रोपनी खेत बगरमा परिणत भएको छ। यस्तै चौकुने–१० घाटगाउँमा आएको बाढीले पनि दर्जनौँ घरमा क्षति पुर्‍याएको छ।

गाउँपालिका अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिए। उनले बाढीबाट प्रभावित स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितलाई थप आवश्यकतानुसारको राहत वितरण गर्ने तयारी रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.