‘नागरिकता वितरण गर्ने चिज होइन’

|
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको समस्या समाधान गर्न आफूले अध्यादेश ल्याउँदा गठबन्धनवालाहरूले रोकेको आरोप लगाएका छन्। 

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता नेपाली नागरिकलाई दिने बिषय भएकाले वितरण गर्ने वस्तु नभएको बताएका हुन्। 

उनले भने, ‘नेपाली नागरिकले नागरिकता पाउनुपर्छ। सरकारलाई विदेशी नागरिकलाई नागरिकता दिने अधिकार हुँदैन। सरकारले नागरिकता खोस्न पनि सक्दैन। गैर नागरिकलाई दिन पनि सक्दैन। त्यसको कानुनी र संवैधानिक प्रावधानहरु छन्। कसैलाई अनागरिक बनाउन पाइँदैन।’

आफूले संविधान बमोजिम नै नागरिकता समस्या समाधान गर्न खोजेको ओलीको भनाइ थियो। 

‘नागरिकताको प्रमाणपत्र दिने हो। वितरण गर्ने होइन। नागरिकता दिनुपर्छ भनेर संविधान बमोजिम कानुन पेश गरेका थियौँ। तर, गठबन्धनवालाहरूले अगाडि नै बढ्न दिएनन्। अहिलेको गठबन्धनवालाहरू जहाँ जहाँ भएपनि मति त्यही थियो। अहिले गठबन्धनमा छन्’ उनको भनाइ छ। 

गठबन्धनवालाहरूले मुद्दा हालेर सर्वोच्च अदालतबाट रोकेको उनले स्मरण गरे। 

‘संसद नभएको बेलामा अध्यादेशमार्फत अगाडि बढाएका थियौँ। संसदमा जानै बाँकी थियो। गठबन्धनवालाहरूले मुद्दा हालेर अदालतबाट बदर गराए। हामीले संवैधानिक ढंगबाट गरेका थियौँ’ उनले भने, ‘अदालतको बारेमा टिप्पणी गर्दिनँ। स्वतन्त्र न्यायालय संविधानबमोजिम सबैलाई समान व्यवहार गर्नुपर्छ।’ 

न्यायालयमा कानुनी राज नै नभएको उनको दाबी छ।  गठबन्धन नीजि स्वार्थलाई काम गर्ने देखेर नै एमाले प्रवेश गर्नेको लहर अहिले बढेको ओलीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.