|

बागलुङ : निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेलले पाँच वर्षअघि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाएका थिए। ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन्। 

दुई वर्ष अगाडि लगाएको उन्नत जातको कागतीले पनि यस वर्षदेखि फल दिन थालेपछि पोखरेलको अनुहारमा खुसी छाएको छ। ‘कागती बहुउपयोगी रहेछ भन्ने विदेश गएर थाहा पाइयो’, उनी भन्छन्, ‘विदेशबाट आएर लगाएको डेढ सय बिरुवाले अहिले फल दिन थालेका छन्। दुई वर्षअघि लगाएका नयाँ जातका ४५० बिरुवाले पनि फल दिन थाले।’

२३ वर्ष भारत र दुई वर्ष कतारमा बिताएका ४८ वर्षीय पोखरेलले १५ रोपनी बारीमा कागती लगाएका छन्। कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुर लगायत फलफूल बारीमा छन्। अघिल्लो वर्ष एक लाखको कागती बिक्री गरेका पोखरेलले यो वर्ष दुई लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएका छन्। ‘अघिल्लो वर्ष कम बोटले मात्रै फल दिएको हुँदा आम्दानी पनि कम भयो, यसपालि निकै राम्रो फलेको छ। त्यसैले राम्रो आम्दानी हुने आशा छ’, उनी भन्छन्।

कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उनले बताए। फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाख रुपैयाँसम्मको बिक्री गर्न सक्ने उनले बताए। गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको भन्दै ५० हजार रुपैयाँ बराबरको टिमुर बिक्री गर्ने उनले बताए। कागतीले राम्रो उत्पादन दिन थालेपछि बजारको समस्या हुने उनको चिन्ता छ।

‘गत वर्षसम्म बजारको कत्ति पनि समस्या थिएन, यस वर्ष कागती सुन्तला लटरम्म फलेका छन्, साँघुरो बजार छ, कहाँ लगेर बच्ने भन्ने पिर छ’, उनी भन्छन्, ‘बजार अभाव छ। थोक व्यापारी आउँदैनन्। खुद्रा व्यापारले नधान्ने देख्छु।’

विकल्पको रूपमा उनले कागतीसँगै यसबाट बनेको चुक समेत बजारमा पठाउने गरेका छन्। कागतीको चुक खासगरी तराईमा बढी विक्री हुने गरेको उनले बताए। 

निसीखोला गाउँपालिका–६ का ३७ वर्षीया लोकबहादुर कुँवरले पनि कागती खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्षदेखि कागती खेती गर्दै आएका कुँवरले यो वर्ष चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने सोचमा छन्। आठ सय कागतीका बोटमध्ये झण्डै ५०० बोटले फल दिन थालेको उनले बताए। अर्को वर्ष उत्पादन दोब्बर हुने उनी बताउँछन्।

‘यो वर्ष सबै बिरुवाले फल दिन सकेनन्, अर्को वर्ष करिब ६०० बिरुवाले फल दिने अनुमान गरेको छु। यो वर्ष चार लाख आम्दानी हुने अनुमान गरेको छु, अर्को साल सिजन राम्रो भयो भने छ लाख त न्यूनतम पनि आम्दानी हुन्छ’, उनले भने। उनको बारीमा दुई जातका कागती रहेछन्। एउटा जातको कागतीले बाह्रै महिना फल दिने रहेछ। 

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पछिल्लो समय कागती खेतीमा लाग्ने कृषक बढेको बताए। उनका अनुसार अहिले जिल्लामा २१०  कृषकले व्यावसायिक रूपमा कागती खेती गरिरहेको जानकारी  दिए। बागलुङको माथिल्लो भेग बाहेक धेरै ठाउँमा कागती खेती गर्न उपयुक्त रहेको भट्टराईले बताए।

‘पछिल्लो समय बागलुङमा कागती खेती गर्ने बढेका छन्। २१० जनाले व्यावसायिक रूपमै यसको खेती गरिरहेका छन्’, उनले भने, ‘बागलुङका अधिकांश क्षेत्र कागती खेतीका लागि उपयुक्त मानिन्छ। धेरैले कागती खेतीमा चासो देखाएपछि जिल्लाको धेरै पालिकामा कागती पकेट क्षेत्र पनि घोषणा भएका छन्।’

भट्टराईका अनुसार सात सयदेखि १६ सय मिटरको उचाइमा कागती खेती निकै राम्रो हुन्छ। बागलुङमा कागती खेतीको प्रवर्धन हुन थालेको उनको भनाइ छ। ‘कागती खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले सहयोग समेत गर्दै आएको छ, अहिले विस्तारै यहाँ कागतीको प्रवर्धन हुँदैछ। जिल्लामा अब हरेक वर्ष  कागती उत्पादन बढ्ने देखिएको छ’, उनले भने।

जिल्लामा हरेक वर्ष कागती र सुन्तला गरि ३५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिने र यसबाट राम्रो आम्दानी गर्न सक्ने भएकाले कृषकलाई प्रोत्साहन गरिरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.