झूटा आश्वासनप्रति नेता कार्यकर्ता नै असन्तुष्ट

|

म्याग्दी : संघीय संरचना अन्तर्गत स्थापित प्रदेश तथा प्रतिनिधिसभाको पहिलो कार्यकाल सकिएपछि जिल्लाबाट निर्वाचित सांसदहरूको कार्यप्रगतिको समीक्षा हुन थालेको छ। आसन्न निर्वाचनको मुखमा आफ्नो जिल्लाबाट निर्वाचित भएर गएका जनप्रतिनिधिले गरेको कामबारे जनताले चासो राख्न थालेका हुन्। 

आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ। गत निर्वाचनमा झूटा आश्वासन बाँडेका दलका नेताहरू अहिले पनि गाउँ केन्द्रित भइसकेका छन्।    
म्याग्दीमा एक प्रतिनिधि र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ। 

०७४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धन (एमाले-माओवादी)बाट उम्मेदवार विजयी भएका थिए।

प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्रबहादुर थापा र समानुपातिकमा थममाया थापा, प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट माओवादीका विनोद केसी र क्षेत्र ‘ख’बाट एमालेकी नरदेवी पुन विजयी भएका थिए। 

निर्वाचनलगत्तै माओवादी र नेकपा एमाले मिलेर बनेको नेकपा पार्टी तीन वर्ष नपुग्दै विभाजन भयो। प्रतिनिधिसभा संसद दुई पटक विघटन भयो। विघटित प्रतिनिधिसभा पुर्नस्थापना पछि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार छ।

चुनावताका र चुनावबाट निर्वाचित भएपछि सांसदहरूले जिल्लावासी माझ गरिएका बाचा कति पुरा भए? पाँच बर्षको अवधिमा सांसदहरूको भुमिका कस्तो रह्यो? जनमतको कदर कति भए? यिनै कुराको आम मतदाताले गर्न थालेका छन्। 

आफूहरूले चुनेर पठाएका प्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल समाप्त हुँदै गर्दा जिल्लावासी भने त्यति सन्तुष्ट देखिँदैनन्। जिल्लाबाट निर्वाचित सांसदहरूको कमजोर भूमिका हुँदा जिल्लाको विकासले गति लिन नसकेको जिल्लावासीको बुझाइ छ। गत निर्वाचनमा गरेका योजनाको पोको अझै अलपत्र परेको छ। 

कार्यकर्ता नै असन्तुष्ट

आफ्नो पार्टीबाट उम्मेदवार बनेर सांसद बनेकाहरूको भूमिकालाई लिएर एमाले र माओवादी म्याग्दीका नेता तथा कार्यकर्ताहरू समेत सन्तुष्ट बन्न सकेका छैनन्। 

जिल्लाको विकासका लागि केही पहल भए पनि त्यसको कार्यान्वयनसँगै सफल बनाउन सांसदहरूको भूमिका प्रभावकारी नदेखिएको नेता कार्यकर्ताहरूले आरोप लगाउन थालिसकेका छन्। 

२०७४ को निर्वाचनमा निर्वाचित भएपछि सांसदहरूले जिल्लाको विकास र समृद्धिको नेतृत्व गर्ने प्रतिबद्धता गरेका थिए। पाँच वर्षे कार्यकाल सम्पन्न हुँदा सांसदहरूले प्रतिवद्धता गरेअनुसार जिल्लाको विकास र समृद्धिको नेतृत्व गर्न नसकेको जिल्लाको अवस्थाबाट प्रष्ट देखिन्छ। 

योजना अलपत्र 

सांसदहरूको भूमिका कमजोर हुँदा जिल्लामा संचालित ठूला विकासका आयोजनाहरू अलपत्र परेका छन्। विशेषगरी जिल्लामा गरेर प्रदेश र संघ सरकारबाट संचालित ठूला आयोजनाहरू अलपत्र परेका छन्। 

०७७ मा अविरल वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित पीडित परिवार पुनर्स्थापना र व्यवस्थापनमा कमजोर भूमिका खेलेको भन्दै सांसदहरूले आलोचना खेप्नु पर्‍यो।

गण्डकी प्रदेश सरकारले तीन वर्षअघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका प्रदेशसभा निर्वाचन क्षेत्र क  मा पर्ने गलेश्वर–पिप्ले–भगवती हुँदै बेगखोला सडक र निर्वाचन क्षेत्र ख मा पर्ने लाम्पाटा–दरबाङ सडक स्तरोन्नती सहित कालोपत्रे गर्ने योजना, बेनी अस्पतालको निर्माणाधीन भवनलगायत ठुला आयोजनाहरू अलपत्र परेका छन्।

प्रतिनिधिसभा सदस्य सांसद भुपेन्द्रबहादुर थापा र प्रदेश सभा सदस्य विनोद केसीको पहलमा म्याग्दीलाई हिमाली जिल्ला घोषणा गरिएको छ। 

निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले केन्द्रीय सदस्य थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचीकृत गर्नु नै ठुलो उपलब्धि मान्छन्।

उनी भन्छन्, ‘हामीले जिल्लामा सडक, झोलुङ्गे तथा मोटरेबल पुल, खानेपानी, विद्यालय भवन, बजार क्षेत्रको संरक्षण योजना सञ्चालन, विद्युतीकरण, कृषि, पशुपालन र पर्यटनमा पर्याप्त बजेट विनियोजन गरी विकास निर्माणका कामलाई अगाडि बढाएका छौँ।’

जनताले गत चुनावमा घोषणा गरेको प्रतिवद्धता अलपत्र पारेको आरोप उनी इन्कार गर्छन्। 

उनी भन्छन्, ‘हामीले योजना बनाएर नै प्रतिवद्धता गरेका थियौं। त्यहीअनुसार अधिकांश काम भएका छन्। हामी जनतालाई आश्वासन होइन। काम नै गरेर देखाउँछौँ।’

उनले मुख्य उपलब्धि मानेका म्याग्दीलाई हिमाली जिल्ला घोषणा गरेको भएपनि अहिलेसम्म हिमाली जिल्लाको सेवा सुविधा पाउन सकेको छैन। जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सयौँ वर्ष पुरानो गुठी जग्गाको समस्या समाधान गराउन भने सफल भएनन्।

कांग्रेस म्याग्दीले पनि जिल्लाको विकासमा सांसदहरूको भूमिका प्रभावकारी नदेखिएको बताएको छ। योजना तथा बजेट विनियोजन गर्दा विभेद गरेको कांग्रेसको आरोप छ।

‘काम गरेका छौँ’

भौगोलिक अवस्था, जनताको आवश्यकता अनुसार योजनाहरू विनियोजन गर्नुपर्नेमा आफ्नो पार्टीको ‘भोट बैंक’ भएका क्षेत्रहरूमा बढी जोड दिएको उनको भनाइ छ। 

उनले आफ्नो पहिलो कार्यकाल सफल, स्मरणीय र ऐतिहासिक भएको बताए। ‘मेरो पहिलो कार्यकाल सफल ,स्मरणीय र ऐतिहासिक भएको छ’ उनले भने। 

अन्नपूर्णको पोखरेबगर–चित्रे सडक स्तरोन्नती, पाउद्धर–घार सडक पुल निर्माण, धौलागिरी र अन्नपुर्ण हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माणलगायत योजना निर्माणको काम आफ्नो कार्यकालमा भएको बताए।

‘म्याग्दीलाई हिमाली जिल्ला घोषणा, सडक स्तरोन्नती, सडक, मोटरेबल र झोलुङ्गे पुल, धौलागिरी र अन्नपुर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलगायत पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माणसँगै ऐतिहासिक ताकमकोट र राखु भगवती कोट पुनःनिर्माण लगायतका थुप्रै ऐतिहासिक काम भएका छन्।’

त्यसैगरी मुना-दर ,शिवरात्री,अधिभारा लगायत पाँच स्थानमा पुल निर्माण हुनेछन्। बेनी बजार संरक्षण, कालीपुल बसपार्क आयोजना निर्माणधीन रहेको उनले बताए। 

बृहत भगवती र भक्तिखोला खानेपानी आयोजना निर्माणको लागि टेण्डरको तयारीमा रहेका छन्। जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माणधीन र डिपिआरको चरणमा रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.