|

डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले भाग नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा २ मा दाबी गरेको थियो। डा. तारा जोशीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए। जोशीलाई नेपाली कांग्रेस बीपीले पनि सहयोग गर्ने भएको छ।

जोशीलाई एमालेको समर्थन जुटाउन वार्ता पनि जारी रहेको अध्यक्ष विष्टले बताए। गत चुनावमा जोशीलाई हराएका मल्ल पनि अहिले उनकै समर्थनमा उत्रिएका छन्। मल्ल समर्थनमा उत्रिएपछि जोशीलाई चुनाव जित्न सहज हुने देखिएको छ।

अघिल्लो पटक झिनो मतान्तरले कांग्रेस उम्मेदवार मल्लसँग पराजित जोशीको लागि प्रदेशसभा २ दाबी गरिएको थियो। अहिले उक्त क्षेत्र कांग्रेसको भागमा परेको छ। अर्को क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ।

कांग्रेसबाट गोविन्दराज बोहोरालाई टिकट दिएसँगै पार्टीभित्र पनि असन्तुष्टि बढेको छ। कांग्रेसका जिल्ला पार्टी सभापति भीमबहादुर साउँदले प्रदेशसभा १ मा टिकट नपाएपछि कांग्रेसमा असन्तुष्टि चुलिएको हो।

त्यसको प्रत्यक्ष असर प्रदेशसभा २ मा पनि परेको छ। जसले गर्दा बोहरालाई कमजोर उम्मेदवारको रूपमा हेर्न थालिएको छ। प्रदेशसभा २ मा नेकपा एस र कांग्रेस बीपीको राम्रो पकड रहेको छ। नेकपा एसले प्रतिनिधिसभातर्फ भने कांग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गर्ने भएको छ। जसले गर्दा देउवालाई थप चुनौती थपिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.