|

चेन्नई : भारतको कर्नाटक राज्यमा रहेको कन्नड फिल्म उद्योग जहाँ १० देखि १५ करोड भनेको ठूलो लगानी हुने गर्थ्यो। सन् २०१५ मा प्रशान्त नीलले एउटा फिल्मको स्क्रिप्ट तयार पारे जसमा ५० करोडभन्दा बढीको खर्च निस्किन सक्थ्यो। 

उक्त स्क्रिप्ट नीलका लागि त ड्रिम प्रोजेक्ट थियो नै‚ साथै यो फिल्मले सात दशक लामो इतिहास बोकेको कन्नड फिल्म उद्योगको पनि भाग्य बदल्न सक्छ भन्नेमा उनी विश्वस्त थिए। त्यसैले फिल्म निर्माणमा कुनै कुरामा पनि सम्झौता गर्नु नपरोस् भन्ने उनको चाहना थियो। 

त्यसपछि उनको भेट विजय किरागन्दुरसँग भयो जसले नीलको महत्त्वाकांक्षी योजनालाई विश्वास गरे र फिल्ममा लगानी गर्न राजी भए। २०१७ को जनवरीदेखि छायांकन शुरु भएको फिल्म २०१८ को शुरुसम्ममा सकियो। त्यति वेलासम्म फिल्मको खर्च अपेक्षा गरिएभन्दा बढी आइसकेको थियो। फिल्मलाई कन्नड बाहेक तमिल, तेलुगु र हिन्दी भाषामा पनि डब गरियो। फिल्म प्रदर्शनका लागि तयार हुने वेलासम्म यसको खर्च ८० करोड पुग्यो। 

२०१८ डिसेम्बर २१ मा केजिएफ च्याप्टर १ झण्डै २ हजार पर्दामा एकसाथ प्रदर्शनमा आयो, जुन कन्नड फिल्म उद्योगका लागि अर्को नयाँ इतिहास थियो। फिल्मले पहिलो दिन भारतबाट मात्रै १८ करोडको कमाइ गर्दै सबैभन्दा ठूलो ओपनिङ गर्ने कन्नड फिल्म बन्यो। साथै विश्वभरबाट ३ अर्ब ५० करोडको कमाइ गर्दै कन्नड फिल्म इतिहासमा सर्वाधिक कमाउने फिल्म मात्र बनेन‚ सिंगो उद्योगलाई नै देशका ठूला भनिएका फिल्म उद्योगसँग उभ्यायो। 

यो वर्ष प्रदर्शनमा आएको केजिएफ च्याप्टर २ ले प्रदर्शनअघि नै ठूलो हाइप बनाएको थियो। यसकै कारण आमिर खानले आफ्नो फिल्म लालसिंह चढ्डाको प्रदर्शन मिति सार्नुपरेको थियो भने अन्य धेरै फिल्मको व्यापारमा प्रत्यक्ष असर पारेको थियो। विश्वभरबाट १२ अर्बभन्दा बढी आम्दानी गर्दै भारतीय फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा तेस्रो नम्बरमा आउन सफल पनि भयो। 

उपेन्द्र, ए, लुसिया, मुंगारु मेल जस्ता थुप्रै समीक्षात्मक रूपमा अब्बल फिल्म केजिएफ आउनुभन्दा अगाडिदेखि नै बन्दै आए पनि बजार भने सानो थियो। केजिएफ प्रदर्शनमा आइसकेपछि कन्नड फिल्म उद्योगको नयाँ कालखण्ड शुरु भएको छ। दशौँ महिना चलिरहँदा कन्नड फिल्म उद्योगका लागि यो वर्ष विशेष रहने देखिएको छ। 

गत अप्रिलमा केजिएफ च्याप्टर २ र जुनमा ७७७ चार्ली पछि सेप्टेम्बर ३० देखि नयाँ फिल्म ‘कान्तारा’ प्रदर्शनमा आएको छ। ऋषभ शेट्टीको लेखन, निर्देशन तथा मुख्य भूमिका रहेको फिल्म एक्सन थ्रिलर जनरामा बनेको छ। १६ करोड बजेटमा बनेको फिल्मले दुई हप्तामा ८० करोडभन्दा बढी कमाइ गरिसकेको छ। कन्नड भाषामा मात्र प्रदर्शन भएको फिल्मको कथा, पटकथा, निर्देशन, छायांकन, सम्पादन, पार्श्वध्वनि, संगीत, प्रोडक्सन डिजाइन, अभिनय सबै पक्षको तारिफ भइरहेको छ। 

कम बजेटमा कर्नाटक राज्य र राज्य बाहिर रहेका कन्नडभाषीलाई मात्र लक्षित गरेर बनाइएको फिल्मले दर्शक र समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि अरू धेरै ठाउँमा फिल्मको माग बढेको छ। जसअनुरूप फिल्म तेलुगु, तमिल र हिन्दी भाषामा पनि डब भएर शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ।

केजिएफकै निर्माता कम्पनी होमबेल फिल्म्सले निर्माण गरेको फिल्म सन् १९९० को समय पृष्ठभूमिमा तयार पारिएको छ। आफ्नै संस्कृति रहेका, धर्ममा आस्था राख्ने, जंगलको एक ठाउँमा बसोवास गर्ने, कृषिमा निर्भर स्थानीयको आफ्नो भूमि जोगाउन गरेको संघर्ष फिल्ममा देखाइएको छ। जुन भूमि कानुनी रूपमा सरकारको हुन्छ र त्यहीँका राजाले स्थानीयलाई उनीहरूको आफ्नो गाउँको सट्टामा जंगलको भूमि दिएका हुन्छन्।

कान्तारा प्रदर्शन भएपछि भारतमा कन्नड फिल्म उद्योगलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ। विशेष गरी फिल्मका लेखक, निर्देशक तथा मुख्य अभिनेता शेट्टीको खुलेर प्रदर्शन  भइरहेको छ। सन् २०१३ देखि फिल्म क्षेत्रमा सक्रिय शेट्टी २०१९ को कन्नड फिल्म बेल बटममा पहिलो पटक मुख्य भूमिकामा देखिएका थिए।

कान्तारा बक्स अफिसमा अर्ब करोड कमाइ गर्ने सातौँ कन्नड फिल्म बन्ने देखिएको छ। केजिएफ फ्रेन्चाइजका दुई फिल्म बाहेक जेम्स, विक्रान्त रोणा, ७७७ चार्ली र रोबर्ट अर्ब कमाउन सफल कन्नड फिल्म हुन्। तीमध्ये जेम्स, केजिएफ च्याप्टर २, विक्रान्त रोणा र ७७७ चार्ली यसै वर्ष प्रदर्शनमा आएका हुन् भने रोबर्ट गत वर्ष प्रदर्शनमा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.